बागमतीका मुख्यमन्त्री लामा राजीनामा दिने तयारीमा
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा राजीनामा दिने तयारीमा रहेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विवाद चाँडै समाधान गरी पार्टी निर्णयलाई स्वीकार गर्न निर्देशन दिएपछि उनी राजीनामा दिने मोडमा पुगेका हुन् । सभापति देउवाले बिहीबार काठमाडौंमा लामासँग भेटघाट गरी पार्टीभित्रको विवाद नलम्ब्याउने र लोकतान्त्रिक प्रक्रियाबाट निर्णय लिन सुझाव दिएका थिए । देउवाको निर्देशनपछि लामा आफ्नो नजिकका सांसद र टोलीसँग छलफल गरी अन्तिम निर्णय लिने तयारीमा छन् । पदबाट हटेपछि आफूनिकटका सांसद र मन्त्रीहरूको व्यवस्थापन कसरी गर्ने विषयमा पनि लामा देउवासँग परामर्श गरेका छन्।
देउवाले सबै पक्षलाई मिलाएर अगाडि बढ्नुपर्ने स्पष्ट जवाफ दिएका थिए। हाल लामा काठमाडौंमा आफूनिकटका सांसदहरूसँग बैठकमा व्यस्त छन् र कांग्रेस नेतृत्वको सरकार बागमतीमा कायम राख्न आफूनिकटका सांसदहरूलाई प्रभावशाली मन्त्रालय दिने सुनिश्चितता खोजिरहेका छन्। स्रोतका अनुसार, आर्थिक मामिला लगायतका महत्त्वपूर्ण मन्त्रालयहरू आफूनिकटका मन्त्रीलाई दिनुपर्ने अडान छ।