बुडोल सामुदायिकले २ सय ७ बालबालिकाहरुलाई एसईई सम्मान,अध्यक्ष केसीलाई उत्कृष्ट संचालकको रुपमा सम्मान घोषणा
बनेपा । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हरेक वर्ष झै यो वर्ष पनि संस्थामा आवद्ध बाल सदस्यहरुलाई एसईई उर्तिण गरेकोमा सम्मान गरेको छ । चेतना केन्द्र बुडोलमा आयोजित कार्यक्रमको अध्यक्षता संस्थाका शिक्षा तथा प्रकाशन उप समिति संयोजक गायत्री खड्काले गरेकी थिईन् । कार्यक्रममा बोल्दै उपसमिति संयोजक खड्काले बालबालिकाहरुले आगामी दिनमा भविश्य निर्माणका लागि कडा मेहनतका साथ अध्ययन गर्ने वातावरण निर्माण गर्न तथा उज्ज्वल भविश्यको कामना गरेकी थिईन् । संस्थाले बालबालिकाहरुलाई बचत गर्न मात्रै नभई उनिहरुको बृत्ति विकासका लागि सहजिकरणका साथै अभिभावकत्व समेत ग्रहण गर्ने भएकाले बालबालिकाहरुलाई नियमित बचत गर्ने बानी बसाल्न अनुरोध गरिन् । संस्थाका अध्यक्ष कैलाश केसीले पछिल्लो समय सहकारी अभियानमा देखिएका समस्याहरुका बाबजुत पनि सहकारी क्षेत्रमा सदस्यहरुको विश्वास, बुडोल सामुदायिक साकोसको अवस्था, आगामी योजनाका बारेमा धारणा राखेका थिए ।

उपसमितिका सदस्य तारानाथ बजगाईद्वारा संचालित कार्यक्रममा संस्थाका अध्यक्ष कैलाश केसी, प्रमुख सल्लाकार रामहरी केसी, उपसमिति संयोजक गायत्री खड्का, पत्रकार लक्ष्मण तिमल्सिना, संस्थाका प्रमुख कार्यकारी अधिकृत विवेकराज ठकुरी, संचालक समिति, उपसमितिका सदस्यहरु, कर्मचारीहरु र सम्मानित विद्यार्थीहरुको सहभागिता रहेको थियो । संस्थामा आवद्ध २ सय ७ जना बालबालिकाहरुलाई यो वर्ष सम्मान गरिएको प्रमुख कार्यकारी अधिकृत विवेकराज ठकुरीले जानकारी दिए । बृत्तिमार्ग निर्देशन समितिकी रक्षा आचार्य बालबालिकाहरुलाई एसईई उर्तिणपछि बालबालिकाहरु बृत्तिमार्ग सम्वन्धी अभिमुखिकरण दिईएको थियो । जिल्लाको उत्कृष्ट र ब्यवस्थित सहकारीका रुपमा बुडोल सामुदायिकलाई लिईन्छ । बागमती प्रदेश सहकारीले स्थापना दिवसको अवसरमा बुडोल सामुदायिकका अध्यक्ष कैलाश केसीलाई संचालकहरु मध्येबाट उत्कृष्ट संचालकका रुपमा सम्मान घोषणा गरेको छ ।