नाइमा मोबिलिटि एक्स्पो आजबाट शुरु
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) को आयोजनामा नाइमा मोबिलिटी एक्स्पो आज (बुधबार) शुरु भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक्स्पोको उद्घाटन गर्नु भएको थियो । साउन २१ देखि २५ गतेसम्म चल्ने यस प्रदर्शनीमा दुईपाङ्ग्रे, तीनपाङ्ग्रे र चारपाङ्ग्रे गरी ५० भन्दा बढी मोडेलका सवारीसाधन राखिने छन् । नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यका अनुसार यो एक्स्पो खरिदकर्ताका लागि नयाँ र उपयुक्त अवसर हुनुका साथै अटोमोबाइल क्षेत्रको नवीनतम ज्ञान र भविष्यको कार्यदिशा तय गर्ने महत्त्वपूर्ण मञ्च पनि हो । एक्स्पोमा विभिन्न कम्पनीले ३५ वटा नयाँ मोडलका सवारीसाधन सार्वजनिक गर्ने तयारी गरेका छन् । नाइमाका अनुसार १५ मोडलका चारपाङ्ग्रे, १५ मोडलका दुईपाङ्ग्रे, एउटा तीनपाङ्ग्रे र ४ वटा कमर्सियल गाडी सार्वजनिक हुनेछन् । प्रदर्शनीका पाँचै दिन सवारी तथा यातायातका विभिन्न विषयमा स्वदेशी तथा विदेशी विज्ञहरूको सहभागितामा छलफल कार्यक्रम पनि आयोजना गरिनेछ ।
यसमा यातायात क्षेत्रको वर्तमान अवस्था, जनशक्ति विकास, नीतिगत अवस्था र व्यवस्थापनजस्ता विषयमा विमर्श हुनेछ । चारपाङ्ग्रेमा बीवाइडी, सिट्रोन, फोरथिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टास, हुन्डाई, केई, किया, लीपमोटर, एलएस अटो, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुविशी, निसान, ओमोडा, जेको, प्युजो, प्रोटोन, रेनो, टोयोटा, भोक्सवागन र जीकर रहेका छन् । यस्तै दुईपाङ्ग्रेमा एम्पियर, एथर, बजाज, बेनेली, सीएफ मोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआइयू, रेभोल्ट, रोयल इन्फिल्ड, सेगवे नाइनबोट, सुजुकी, ट्राइम्फ, टीभीएस, अल्ट्राभ्वाइलेट, याज्दी र जीहो छन् । कमर्सियलमा चेरी वान्डा, डोङफेङ, फारिजोन, हाउजी, कामा, कारी, किङलङ र सनलङ रहेका छन् । टिकट शुल्क साधारणका लागि २ सय रुपैयाँ तथा विद्यार्थीका लागि परिचयपत्रका आधारमा ५० प्रतिशत छुट रहेको छ । कारका लागि पार्किङ नेपाल पुलिस क्लबमा र मोटरसाइकलका लागि भृकुटीमण्डपभित्र व्यवस्था मिलाइएको छ । टिकट बिक्रीबाट उठेको रकमको पाँच प्रतिशत शिक्षा मन्त्रालय र सीटीईभीटीको सहकार्यमा मोबिलिटी क्षेत्रका विद्यार्थीलाई छात्रवृत्ति तथा फेलोसिप प्रदान गर्न खर्च गरिने नाइमाले जनाएको छ ।