मोबिलिटी क्षेत्रको दीर्घकालीन स्थायित्वका लागि स्थिर र स्पष्ट नीतिको आवश्यकता : नाइमा अध्यक्ष वैद्य

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) की अध्यक्ष ऋतुसिंह वैद्यले मोबिलिटी क्षेत्रको दीर्घकालीन स्थायित्वका लागि स्थिर र स्पष्ट नीतिको आवश्यकता रहेको बताएकी छन् । बुधबार काठमाडौंको भृकुटीमण्डमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’को उद्घाटन कार्यक्रममा अध्यक्ष वैद्यले यस्तो बताएकी हुन् । नेपालमा अटोमोबाइल क्षेत्रले सेवा क्षेत्रमा मात्र करिब ४.७ प्रतिशत रोजगारी सिर्जना गरेको छ । स्वास्थ्य, पर्यटन र वित्तीय सेवाजस्तै यो क्षेत्रले पनि हजारौं नेपालीलाई अप्रत्यक्ष रूपमा समेत रोजगारीमा जोडेको छ, वैद्यले भनिन्, ,मोबिलिटी क्षेत्रको दीर्घकालीन स्थायित्वका लागि स्थिर र स्पष्ट नीतिको आवश्यकता छ ।

उनले ईभी आयातले चार्जिङ पूर्वाधारका प्राविधिक जस्ता नयाँ रोजगारीका अवसर खुलेको बताइन् । यिनै अवसरलाई लक्षित गर्दै नाइमाले सीटीईभीटी र शिक्षा मन्त्रालयसँग सहकार्यमा सीप विकासमा लगानी बढाइरहेको पनि उनले जानकारी दिइन् । नेपालमा अटोमोबाइल क्षेत्रले रोजगारी, हरित प्रविधि र पूर्वाधार विकासमा उल्लेख्य योगदान दिँदै आएको छ, उनले भनिन्, ‘नाइमा सीटीईभीटी र शिक्षा मन्त्रालयसँग सहकार्य गर्दै युवाहरूका लागि समावेशी र भविष्यमैत्री रोजगारी सिर्जना गर्न ‘श्रमशक्ति विकास’ अभियानमा सक्रिय छ। उनले नाइमा अटोमोबाइल आयातकर्ता र उत्पादकहरूको साझा आवाजका रूपमा स्थापना भएको संस्था भएको बताइन् । यसले नेपालमा सवारीसाधन ल्याउने, उत्पादन गर्ने, सेवा केन्द्र निर्माण गर्ने, जनशक्ति विकास गर्ने र देशका सहरदेखि गाउँसम्म गुणस्तरीय सेवा पुर्‍याउने कार्य गर्दै आएको उनले जानकारी दिइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *