फोनपे नेपालकै पहिलो पीसीआई डीएसएस प्रमाणित पीएसओ बन्न सफल

काठमाडौं । नेपालको भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) फोनपेले विश्वप्रसिद्ध भुक्तानी सुरक्षासम्बन्धी मापदण्ड (पीसीआई डीएसएस) को v4.0.1 Level 1 Certification प्राप्त गरेको घोषणा गरेको छ । यसले प्रयोगकर्ता, साझेदार बैंक तथा वित्तीय संस्थाहरू र नियामक निकायहरूको विश्वासलाई थप मजबुत बनाएको छ । पीसीआई डीएसएस लेभल वान भुक्तानी कार्ड डाटा सुरक्षाको सर्वोच्च स्तरको अन्तर्राष्ट्रिय मान्यता हो, जसको पालना गर्नका लागि गम्भीर प्राविधिक संरचना, नीतिहरू र निगरानी प्रणाली आवश्यक हुन्छ । फोनपेले यो प्रमाणपत्र प्राप्त गर्नुले कार्डधारकको डाटा सुरक्षित राखेको र सुरक्षा पूर्वाधार बलियो बनाएको स्पष्ट हुन्छ ।

यो प्रमाणपत्र एक स्वतन्त्र र विस्तृत मूल्याङ्कनपछि प्रदान गरिएको हो जुन पीसीआई डीएसएस संस्था दर्ता सर्टिफाइड क्वालिफाइड सेक्युरिटी एसेसर (क्यूएसए) द्वारा सम्पन्न गरिएको थियो । मूल्याङ्कनमा डेटा सुरक्षा, सुरक्षित नेटवर्क संरचना, पहुँच नियन्त्रण, जोखिम व्यवस्थापन र निरन्तर निगरानीलगायत १२ प्रमुख सुरक्षा क्षेत्रहरू समेटिएका थिए । फोनपे नेपाल राष्ट्र बैंकबाट अनुमोदित तथा इजाजतप्राप्त पेमेन्ट सिस्टम अपरेटर हो । यो भुक्तानी सञ्जालले हाल अन्तर बैंक पिअर टु पिअर भुक्तानी, व्यक्ति देखि व्यापारीको लागि क्यूआर प्राप्त गर्ने योजना तथा आफ्नो सहभागी बैंक तथा वित्तीय संस्था र पेमेन्ट सिस्टम प्रोभाइडरहरूलाई लक्षित घरेलु कार्ड योजना प्रदान गरिरहेको छ । पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सेक्युरिटी स्ट्यान्डर्ड (पीसीआई डीएसएस) कार्ड आधारित भुक्तानीको ह्यान्डलिङ, प्रोसेसिङ र सञ्चालनका लागि एक विश्वव्यापी सुरक्षात्मक मापदण्ड हो । पीसीआई डीएसएस सन् २००६ मा प्रमुख भुक्तानी कम्पनीहरूरसंस्थाहरूको सहकार्यमा सुरू गरिएको हो । पीसीआई डीएसएसको पालना गर्नु भनेको केवल सुरक्षासम्बन्धी मापदण्ड पुरा गर्नु मात्र नभई, प्रयोगकर्ताको कार्ड डाटाको ह्यान्डलिङमा संलग्न जोखिमहरू पहिचान गर्दै, तिनको अभिलेख राख्दै, सुधारात्मक कार्यहरू निरन्तर रूपमा गर्नु पनि हो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *