रविले थुनामुक्तिको माग गर्दै दिए निवेदन

काठमाडौं । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुनामुक्तिको माग गर्दै अदालतमा निवेदन दिएका छन् ।

साउन १९ गते रुपन्देही जिल्ला अदालतमा दिइएको निवेदनमा लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ अनुसार बैंक जमानतमा रिहा गराउन र दफा ७१ अनुसार सो सम्बन्धी आदेश दिन आग्रह गरेका छन्। उक्त कानुनी व्यवस्थाअनुसार अदालतले मुद्दाको जुनसुकै अवस्थामा पनि अभियुक्तसँग धरौटी वा बैंक जमानत लिएर रिहा गर्न सक्ने प्रावधान छ । लामिछानेले सहकारी ठगीमा आफू संलग्न नरहेको दाबी गर्दै आफूले जिम्मेवारी लिनुपर्ने बिगो बराबरको रकम बैंक जमानत राखेर रिहा गर्न माग गरेका हुन् ।

सुप्रिम सहकारीमा ठगीसम्बन्धी अभियोगमा उनीसहितका प्रतिवादीमाथि एकमुष्ट १० करोड ९९ लाख रुपैयाँ बिगो माग गरिएको छ । लामिछानेले आफ्नो भागमा पर्ने सम्पूर्ण बिगो बराबरको रकम बैंक जमानतमा राख्न तयार रहेको जनाउँदै थुनामुक्त गरिनुपर्ने माग गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *