समाजसेवी तथा शिक्षाप्रेमी स्व. कार्कीको १८औँ स्मृति सभा सम्पन्न,रक्तदान र विद्यालय सामग्री हस्तान्तरण
भक्तपुर । समाजसेवी तथा शिक्षाप्रेमी स्व. श्यामबहादुर कार्कीको १८औँ स्मृति सभामा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशप्रति युवाहरूको असन्तुष्टि चरममा पुगेको भन्दै यसलाई अपराध नभई वास्तविक भावनाका रूपमा बुझेर समाधानका ठोस कदम चाल्न पार्टीलाई आग्रह गर्नुभएको छ। थापाले धेरै युवाहरूमा “यो देश बस्न योग्य छैन” वा “बस्न योग्य हुन सक्दैन” भन्ने सोच फैलिँदै गएकोप्रति गहिरो चिन्ता व्यक्त गर्नुभयो। उहाँका अनुसार नेपालमा अवसरको कमी छ र पाएका अवसरले पनि धेरै युवाहरूलाई सन्तुष्ट पार्न सकेको छैन।

त्यसैले युवाप्रति लक्षित र परिणाममुखी कार्यक्रम ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो। पार्टीभित्र चुनाव हार्ने डरका कारण राजनीति कमजोर बन्दै गएको टिप्पणी गर्दै थापाले कांग्रेसलाई बलियो बनाउन अग्रज नेताहरूको मार्गनिर्देशन पालन गर्न सबै नेताकार्यकर्तालाई आह्वान गर्नुभएको थियो। कार्यक्रममा संघीय सांसद दुर्लभ थापाले आगामी दिनमा नेपाली कांग्रेसले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिसँग पनि राजनीतिक प्रतिस्पर्धा गर्नुपर्ने उल्लेख गर्दै आफू एआई राजनीति का लागि तयार रहेको बताउनुभयो।

स्मृति सभासँगै रक्तदान कार्यक्रम र विद्यालय सामग्री हस्तान्तरणसमेत सम्पन्न गरिएको थियो। साथै कार्यक्रममा प्रतिनिधिसभा सदस्य दुर्लभ थापा, बागमती प्रदेस सभा सदस्य एव पूर्व मन्त्री सुरजचन्द्र लामिछाने, बागमती प्रदेस सभा सदस्य सुरेश श्रेष्ठ, पार्टिका विभिन्न तह तप्काका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।