आतङ्कवाद समाप्त पार्न भारतले अगुवाइ गर्नुपर्ने अध्यक्ष यादवको तर्क
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आतङ्कवाद समाप्त पार्न भारतले अगुवाइ गर्नुपर्ने बताएका छन् । उनले सार्कजस्तो क्षेत्रीय सङ्गठन आवश्यक रहेको र यसको पुनर्जीवनका लागि भारतले अगुवाइ गर्नुपर्नेमा जोड दिएका हुन् ।
नेपाल भारत विकास मञ्चले आइतबार आयोजना गरेको दक्षिण एसियामा आतङ्कवादको अवस्था र दीर्घकालीन समाधानु विषयक विचार गोष्ठीमा आइतबार बोल्दै पूर्व परराष्ट्रमन्त्री समेत रहेका यादवले आतङ्कवादलाई कुनै पनि वादसँग जोडेर हेर्न नहुने बताएका हुन् । आतङ्कवाद राष्ट्रवाद, धर्म वा पृथकतावादी आन्दोलनका नाममा जन्मिए पनि यसको स्वरूप सदैव अमानवीय र मानव विरोधी भएको अध्यक्ष यादवले बताए । “दक्षिण एसियामा कुनै पनि देश आतङ्कवादबाट अछुतो छैन, तर पाकिस्तान र अफगानिस्तानमा यसको प्रभाव धेरै छ । भुटान, भारत र बङ्गलादेशमा पनि यसको गतिविधि देखिन्छ,” उनले भने ।
यादवले आतङ्कवादकै कारण सार्क सङ्गठन निष्क्रिय जस्तो अवस्थामा पुगेको बताए । आतङ्कवादले पाकिस्तान र अफगानिस्तानमा गरिबी र बेरोजगारी बढाएको उनले बताए ।