जनउत्थान साकोसलाई एक्सेस सिल्भर ब्राण्ड प्राप्त गर्न सफल

रुपन्देहीको तिलोत्तमामा मुख्य कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले एक्सेस सिल्भर ब्राण्ड प्राप्त गर्न सफल भएको छ । एसियाली ऋण महासंघ(आक्कु) ले सन् २०२५ को एक्सेस अन्तिम परीक्षणमा जनउत्थान साकोसलाई एक्सेस सिल्भर ब्राण्ड प्रदान गरेको हो । नेपालबाट यस वर्षको एक्सेस सिल्भर ब्राण्ड प्राप्त गर्ने संस्था जनउत्थान साकोस मात्र रहेको छ । एशियाली ऋण महासंघले गरेको लेखापरीक्षणको परिणाम अगस्ट ७ मा सार्वजनिक गरिएकोमा नेपालबाट एक्सेस कार्यक्रम अन्तर्गत चारवटा विभिन्न आयामहरुमा उत्कृष्ट अंक ल्याउन संस्था सफल भएको हो । संस्थाले सीमान्तकृत समुदाय र युवा उद्यमीहरुलाई साना व्यवसाय सुरु गर्न र आर्थिक गतिविधिहरुमा संलग्न हुन सशक्त बनाउने नवीन वित्तीय समाधान समेत प्रवाह गर्दै आईरहेको जनउत्थान साकोस सहकारी अभियानको एक रोल मोडलको रूपमा चिनिएको छ । त्यसैगरि इन्डोनेसियाबाट सौन सिबारुङ क्रेडिट युनियनले पनि यस वर्ष को एक्सेस ब्राण्ड प्राप्त गर्न सफल भएको हो । यस वर्ष एशियाभरबाट दुईवटा सहकारीले मात्र एक्सेस ब्राण्ड प्राप्त गर्न सफल भएका छन् । एशियाली ऋण महासंघले यही २०२५ सेप्टेम्बरको १२ तारिखमा फिलिपिन्सको मनिलामा आयोजना हुने एशियाली क्रेडिट युनियन फोरम २०२५ को उद्घाटन समारोहमा एक्सेस ब्राण्डको प्रमाणपत्र प्रदान गर्ने भएको छ। गत आर्थिक बर्ष २०८१।८२ को वाषिर्क लेखा परिक्षण प्रतिवेदन अनुसार वित्तीय, सदस्य सेवा, आन्तरिक व्यवसायिकरण तथा सिकाई र वृद्धिको अवस्थालाई सुक्ष्म विश्लेषण र परिक्षण गरि जनउत्थान साकोसलाई एशिया स्तरीय गुणस्तर सुनिश्चिता कार्यक्रम अन्तरगत एक्सेस सिल्भर ब्राण्ड प्रदान गरेको संस्थाले जनाएको छ । यस सफलतामा साथ दिने करिब ४० हजार शेयर सदस्यहरु, ८९ जना कर्मचारीहरु, विभिन्न उपसमितिका पदाधिकारीहरु, लेखा सुपरिवेक्षण समिति, सञ्चालक समिति सबैलाई संस्थाले धन्यवाद ज्ञापन गरेको छ । यो सफलता नियमनकर्ताहरुको नियमित मार्गदर्शन, राम्रो अभ्यासहरुलाई निरन्तर समर्थन र प्रोत्साहन, शेयर सदस्यहरुको अनुशासित आर्थिक कारोबार, सञ्चालक, लेखा, उपसमिति तथा कर्मचारीहरुको सामुहिक प्रयास र उत्कृष्टताप्रतिको प्रतिबद्धताको प्रतिफल रहेको संस्थाले जनाएको छ ।

संस्थाले आर्थिक वर्ष २०८२।८३ को असार मसान्तसम्म संस्थाको कुल सम्पत्ति ४ अर्ब ४४ करोड ६४ लाख पुगेको छ । त्यसैगरी संस्थाको शेयरपुँजी २८ करोड ४३ लाख ९४ हजार, जगेडा कोषमा ४० करोड ४७ लाख, कर्जा जोखिम कोषमा १२ करोड ५० लाख रहेको छ । संस्थाले ३ अर्ब ४५ करोड बचत संकलन गरी ३ अर्ब ३३ करोड ४१ लाख ऋण लगानी गरेको छ । ३९ हजार भन्दाबढी शेयर सदस्य रहेको संस्थाले झण्डै ११ हजार सदस्यलाई ऋण प्रवाह गरेको छ । गत आर्थिक वर्ष भित्रमा संस्थामा ४ हजारभन्दा बढी सदस्य थपिएका छन् । संस्थाको कुल बचतमध्ये नियमित मासिक बचतको हिस्सा ४४ प्रतिशत (१ अर्ब ५१ करोड) रहेको छ । त्यसैगरी धन सिर्जना गर्ने बचतको हिस्सा १५ प्रतिशत, आवधिक बचतको हिस्सा १८ र चालु बचतको हिस्सा २३ प्रतिशत रहेको । संस्थाले प्रति सदस्य ३ लाख देखि ५० लाखसम्म ऋण लगानी गर्ने गरेको छ । जसमध्ये ८ हजार अर्थात ७४ प्रतिशत ऋणी ३ लाख मुनिको दायरामा रहेका छन् । १३४ जना सदस्यले मात्र ५० लाख सम्मको ऋण लिएका छन् । संस्थाले वित्तीय कारोबार सँगसँगै सदस्य सेवा कार्यक्रम समेत सञ्चालन गरेको छ । जस अन्तर्गत गर्भवती तथा सुत्केरी भेटघाट, अन्नप्रासन्न, ब्रतबन्ध, नवयुवा सदस्य स्वागत, चेली विदाई तथा नयाँ बुहारी स्वागत, ज्येष्ठ सदस्य तीर्थाटन, ज्येष्ठ सदस्य सम्मान, ८४ वर्षारम्भ भेटघाट तथा मानो राहत वितरण कार्यक्रम गर्दै आएको छ । त्यसैगरी सदस्यहरुलाई प्राणघातक रोग, प्राकृतिक प्रकोप र दुर्घटना बीमा वितरणका बेला सदस्यलाई भेटघाट गरी राहत तथा सान्त्वना दिने गरेको । संस्थाले बाख्रापालक कृषकहरुलाई निब्र्याजी ऋण दिने गरेको छ । त्यसैगरी संस्थाले सामाजिक क्रियाकलाप अन्तर्गत छात्रवृत्ति, आमा समुह तथा टोल विकास सहयोग, खुल्ला रक्तदान, खेलकूद सहयोग, लागु पदार्थ दुव्र्यसनी सचेतना, विद्यालय विकास, युवा विकास, आमा समुह विकासमा टेवा दिँदै आएको र अक्षयकोष स्थापना गरी अनाथाश्रम समेत सञ्चालनमा ल्याएको छ । संस्थाले २०८२ असार मसान्तसम्म, ब्याज कर, सामाजिक सुरक्षा कर, पारिश्रमिक कर, शेयर लाभांश कर, संरक्षित पुँजी कोष कर र घरबहाल कर समेत गरी २ करोड ५४ लाख राज्यकोषमा जम्मा गरेको संस्थाका व्यवस्थापक रन बहादुर थापाले दिए । संस्थाले सदस्यहरुलाई लक्षित गरी विस्तारित मञ्च, सदस्य सीप विकास कार्यक्रम, वित्तीय साक्षरता कार्यक्रम, सञ्चालक तथा कर्मचारीको क्षमता अभिवृद्धि तालिम जस्ता गतिविधि सञ्चालन गर्दै आएको छ । संस्थाले गत वर्षको नाफाबाट १० प्रतिशत लाभांश वितरण गर्न सक्ने व्यवस्थापक थापाले बताए । संस्थाले ५ सी विश्लेषण अवलम्बन गरी ऋण लगानी गर्दा असुली समस्या नभएकोले ब्राण्ड प्राप्त गर्न सकेको व्यवस्थापक थापाले जनाए । सहकारीमा समस्या आउनुमा थोरै सदस्यहरुलाई धेरै ऋण लगानी, फितलो आन्तरिक नियन्त्रण प्रणाली, बचत तथा ऋणको पोर्टफोलियो मिलाउन नसक्नु, सञ्चालक आफैंले ठूलो ऋण लिएर चलाउनु र अनुत्पादक क्षेत्रमा अन्धाधुन्द ऋण लगानी गर्नु जस्ता कारण रहेको उनको भनाई छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *