एनएमबि बैंकको नाफा ३ अर्बमाथि
काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्षमा ३ अर्ब २८ करोड १८ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा ४६ प्रतिशतले बढाएको हो । आव २०८०।८१ मा २ अर्ब २४ करोड ४४ लाख रुपैयाँ नाफा गरेको एनएमबिले नाफा उल्लेख्य रुपमा बढाउन सक्नुको कारण हो, आम्दानीमा वृद्धि र सम्भावित नोक्सानीका लागि गर्नुपर्ने व्यवस्था अर्थात् प्रोभिजनिङमा कमी । बैंकले आव २०८१।८२ मा ८ अर्ब २ करोड ९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने खुद फि एन्ड कमिसन आम्दानी २ अर्ब १८ करोड १७ लाख रुपैयाँ रहेको छ । यता ९५ करोड ८१ रुपैयाँ नोक्सानी व्यवस्था अर्थात् प्रोभिजनिङ गरेको छ । जबकि अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा यस्ता आम्दानी र नोक्सानी व्यवस्था क्रमशः ७ अर्ब २१ करोड ६७ लाख, १ अर्ब ७९ करोड ३९ लाख र २ अर्ब ३ करोड ८० लाख थिए । करिब ७० करोड नेट ट्रेडिङ इन्कम र अदर अपरेरिङ इन्कमसहित बैंकले २०८१।८२ मा ९ अर्ब ९२ करोड ३६ लाख रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको छ । गत आव यस्तो आम्दानी ७ अर्ब ४७ करोड ९२ लाख रुपैयाँ थियो । बैंकको खर्च सामान्य दरले बढेको छ भने करिब ६६ करोड रुपैयाँ गैरसञ्चालन खर्च देखिएको छ । यो खर्च राइट अफ (नोक्सानी बुक) गरिएको कर्जा हो । अघिल्लो आवमा यस्तो खर्च २ करोड रुपैयाँमात्र थियो । यसले सञ्चालन नाफाको तुलनामा नाफा भन बढ्न सकेको देखिएन । नाफा उल्लेख्य मात्रामा बढ्दा एनएमबिको प्रतिसेयर आम्दानीमा भारी सुधार आएको छ । २०८१ असार मसान्तसम्म १२ रुपैयाँ २२ पैसा रहेको ईपीएस २०८२ असारमा १७ रुपैयाँ ८७ पैसा कायम भएको छ । यता बक्यौता ब्याज उठाएर ५९ करोड ३० लाख रुपैयाँ रकम नियामकीय जगेडाबाट फिर्ता गरेको बैंकले गैरबैंकिङ सम्पत्ति बुक गरेर ३५ करोड रुपैयाँ सो कोषमा थप गरेको छ । यसरी बैंकले गरेको ३ अर्ब २८ करोड रुपैयाँमध्ये २ अर्ब ३३ लाख रुपैयाँमात्र लाभांशका रुपमा बाँड्न सक्ने देखिन्छ । यद्यपि गत आवसम्म रहेको ९ करोड ३८ लाख रुपैयाँ सञ्चित नाफा घटाउँदा २०८२ असार मसान्तसम्मको वितरणयोग्य नाफा अर्थात् रिटेन्ड अर्निङ १ अर्ब ९० करोड ९५ लाख रुपैयाँ रहेको छ । बैंकको चुक्तापुँजी १८ अर्ब ३६ करोड ६७ लाखका आधारमा बैंकको लाभांश क्षमता १०.४० प्रतिशत देखिन्छ । २०८२ असार मसान्तको तथ्यअनुसार एनएमबिको निष्क्रिय कर्जा थोरै बढेर ३.७२ प्रतिशत पुगेको छ जबकि खुद निष्क्रिय कर्जा १.३७ प्रतिशत छ । एक वर्षको अवधिमा बैंकको बेसरेट ८.४२ प्रतिशतबाट घटेर ६.२२ प्रतिशत कायम भएको छ भने ब्याजदर स्प्रेड ३.९९ प्रतिशतबाट ३.८२ प्रतिशत कायम भएको छ । यसैगरी प्राथमिक पुँजी अनुपात पनि ९.७२ प्रतिशतबाट कम भएर ९.१८ प्रतिशत कामय हुँदा नेटवर्थ प्रतिसेयर १७६ रुपैयाँ ८१ पैसा र पीई रेसियो १५.१० रहेको छ । बैंकले २ खर्ब ८० अर्ब ९३ करोड रुपैयाँ निक्षेप परिचालन गरी २ खर्ब २९ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । १ वर्षको अवधिमा बैंकले निक्षेप ५७ अर्बले बढाउँदा कर्जा ३५ अर्बले विस्तार गरेको छ ।
सारांशः
नाफाः रू ३ अर्ब २८ करोड
प्रतिसेयर आम्दानीः रू १७.८७
निष्क्रिय कर्जाः ३.७२ प्रतिशत
प्राथमिक पुँजी पर्याप्तताः ९.१८ प्रतिशत
निक्षेपः रू २ खर्ब ८० अर्ब ९३ करोड
कर्जाः रू २ खर्ब २९ अर्ब १२ करोड
खुद ब्याज आम्दानीः रू ८ अर्ब २ करोड ९ लाख
नोक्सानी व्यवस्थाः रू ९५ करोड ८१ लाख
वितरणयोग्य नाफाः २ अर्ब ३३ लाख
लाभांश क्षमताः १०.४० प्रतिशत