लामा पक्षका सांसदले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने
काठमाडौं । बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन आनाकानी गरिरहेको कांग्रेसको एक समूह अहिले हेटौँडा पुगेका छन् ।
पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाको समूह भर्खरै काठमाडौंबाट हेटौंडा आइपुगेका हुन् । लामा समूहका १३ जनै सांसद केहीबेरअघि हेटौडा पुगेका हुन् । उनीहरू पुगेसँगै प्रदेश सभा बैठक बस्ने तयारी भएको छ । ४ बजे बस्ने भनिएको बैठक ढिलागरी सुरु हुन लागेको हो । मुख्यमन्त्री बानियाँले आफ्नै पार्टीका १४ सांसद अनुपस्थित हुने भएपछि सरकारबाहिर रहेका दलहरूसँग छलफल गरेर नेकपा (एकीकृत समाजवादी)बाट विश्वासको मत लिएर सरकारमा पनि सहभागी गराउने सहमति गरेका थिए ।
एकीकृत समाजवादीले पनि कांग्रेसका १४ जना सांसद अनुपस्थित भएमा विश्वासको मत दिएर सरकार जोगाउने आश्वासन दिएको थियाे ।