सरकारको कामले प्रचण्डको मुख टालियो- मुख्य सचेतक बर्तौला
काठमाडौँ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सरकारको कामले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को मुख टालिएको बताएका छन् ।
‘‘हिजो यही संसद्का विभिन्न रोष्ट्रमबाट र विभिन्न तहबाट यो देश बंगलादेश बन्दैछ, श्रीलंका बन्दैछ भनेर आरोपित गर्ने विपक्षी दलको नेताको मुख अहिले टालिएको छ’, बर्तौलाले मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै भने । १२ भदौ २०८१ मा संसद्मा बोल्दै बर्तौलाले माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले बंगलादेश र श्रीलंकामा नागरिकले गरेको आन्दोलन र आन्दोलनमार्फत सरकार फेरिएको घटना स्मरण गरेका छन् । ‘प्रचण्ड’को त्यही अभिव्यक्तिप्रति संकेत गर्दै बर्तौलाले सरकारले सुधारका काम गरेपछि आरोपित गर्नेहरू चुप लागेर बस्ने अवस्थामा पुगेको बताएका हुन् ।
अगाडि भनेका छन्, ‘जुन ढंगबाट सुधारका कामहरू, परिवर्तनका कामहरू, आशाका किरणहरू । जुन ढंगले लगानी र व्यावसायिक वातावरण बन्दैछ । निजी क्षेत्र उत्साहित हुँदैछन् । यसले हिजो आरोपित गर्नेहरू, भ्रमको खेती गर्नेहरूको मुख आज टालिएको छ’, मुख्य सचेतक बर्तौलाले भने । केपी शर्मा ओली नेतृत्वको सरकारले कानुन निर्माणमा समेत प्रगति भएको उनले बताए । प्रतिनिधि सभाको चालू कार्यकालमा २७ वटा विधेयक पारित भएको र पछिल्लो एक वर्षमा मात्रै २३ वटा विधेयक पारित भएको बताए ।