सुजुकीको पहिलो विद्युतीय कार ‘ई-भिटारा’ सार्वजनिक हुँदै
काठमाडौं । नेपालका लागि सुजुकीको आधिकारिक वितरक सिजी मोटोकर्पले मारुती सुजुकीको पहिलो विद्युतीय सवारीसाधन ईभी ‘ई(भिटारा’ नेपालमा सार्वजनिक हुने भएको छ । यो मोडल मारुती सुजुकीले गत जनवरीमा सम्पन्न ‘भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२४’ मा पहिलो पटक प्रदर्शन गरेको थियो । ई भिटारामा अत्याधुनिक एलएफपी ब्लेड ब्याट्री प्रविधि प्रयोग गरिएको छ । यो गाडी ४९ किलोवाट आवर र ६१ किलोवाट आवर गरी दुई ब्याट्री विकल्पमा उपलब्ध हुनेछ । कम्पनीका अनुसार एक पटकको फुल चार्जमा यसले ५०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ । फ्रन्ट–ह्विल ड्राइभ प्रणालीमा आधारित यो कार १०६ किलोवाट, १२८ किलोवाट र १३५ किलोवाटका तीन फरक मोटर विकल्पमा उपलब्ध छ । ई–भिटाराको लम्बाई ४ हजार २७५ एमएम, चौडाइ १ हजार ८०० एमएम र उचाइ १ हजार ६३५ एमएम रहेको छ ।
यसको क्याबिनमा नयाँ अपरेटिङ सिस्टमसहितको डुअल–स्क्रिन लेआउट र विस्तृत जानकारी दिने डिजिटल डायल जस्ता आधुनिक फिचरहरू छन् । गाडीमा १८० एमएम ग्राउन्ड क्लियरेन्स रहेको कम्पनीको दावी छ । गाडीको पछिल्लो भागमा स्प्लिट फोल्डिङ सिट, एड्जस्टेबल हेडरेस्ट, सबै यात्रुका लागि थ्री–पोइन्ट सिटबेल्ट र आइसोफिक्स चाइल्ड सिट माउन्ट जस्ता व्यावहारिक सुविधाहरू पनि दिइएका छन् । सुरक्षाका लागि यसमा अत्याधुनिक फिचरहरूको लामो सूची छ । सबैभन्दा महत्त्वपूर्ण रूपमा यसमा लेभल २ को एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम उपलब्ध छ । जसमा लेन किप असिस्ट, एडाप्टिभ क्रुज कन्ट्रोल र ब्लाइन्ड स्पट मनिटरिङ सिस्टम जस्ता फिचर रहेका छन् । यसका साथै गाडीमा ७ वटा एयरब्याग, ३६० डिग्री क्यामरा, टायर प्रेसर मनिटरिङ सिस्टम, अगाडि र पछाडि पार्किङ सेन्सर, अटो होल्डसहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक, ड्राइभ मोड, हिल डिसेन्ट कन्ट्रोल, वायरलेस फोन चार्जर र हिटेड मिरर जस्ता अन्य महत्त्वपूर्ण सुरक्षा तथा सुविधाका फिचरहरू पनि समावेश छन् ।