लम्बोदर न्यौपानेको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा संयुक्त इजलासमा पेसी
काठमाडौँ । नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेसँग जोडिएको सम्पत्ति शुद्धीकरण, घुस, किर्ते लगायतको मुद्दा न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासमा पेसी तोकिएको छ । विशेष अदालतले न्यौपानेलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको थियो । नेपाल इन्जिनियरिङ कलेजको सम्पत्ति गैरकानुनी रूपमा आफ्नो खातामा राख्ने निर्णय गरेकोमा उनलाई विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले दोषी ठहर गरेको थियो । सामाजिक संस्थाको सम्पत्ति गैरकानुनी रूपमा व्यक्तिगत खातामा सारेकामा उनी दोषी ठहर भएका थिए । विशेषको ठहर अनुसार उनले १२ करोड ४ लाख ८७ हजार रुपैयाँ गैरकानुनी रूपमा अपचलन गरेका थिए ।
विशेष अदालतको सो आदेशविरुद्ध न्यौपाने ५ फागुन २०८१ मा सर्वोच्च अदालत पुगेका थिए । उनले विभिन्न बैंकमा आफ्नो नाउँमा खाता खोली कलेजको रकम स्थानान्तरण गरेको भन्दै विशेष अदालतले त्यसरी आम्दानी गरेको आय स्रोतको कर भुक्तानी नगरेको ठहर गरेको छ । आफ्नो हक नपुग्ने संस्थाको सम्पत्ति कुनै अभिलेख नराखी निजी सम्पत्तिको रूपमा परिणत गरेको भन्दै विशेष अदालतले उनलाई दोषी ठहर्याएको थियो । यसरी गैरकानुनी रूपमा हिनामिना गरेर लाभ गरेको रकम १२ करोड ८४ लाख रुपैयाँ रहेको फैसलाको रायमा उल्लेख छ । तलब भत्ता, गाडी र अन्य सुविधाका नाममा रकम दुरुपयोग गरेको विशेष अदालतले ठहर गरेको थियो ।