वीरेन्द्रनगर साकोसका सिईओ थापा कर्णाली प्रदेशको उत्कृष्ट व्यवस्थापकको रुपमा सम्मानित
काठमाण्डौं । वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत छत्रबहादुर थापा उत्कृष्ट व्यवस्थापकको रुपमा सम्मानित भएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)ले ३८ औं स्थापना दिवसको अवसरमा थापालाई कर्णाली प्रदेशबाट उत्कृष्ट व्यवस्थापक रुपमा घोषणा गर्दै सम्मानित गरेको हो । नेफ्स्कूनले स्थापना दिवसको अवसरमा सातै प्रदेशका उत्कृष्ट व्यवस्थापक घोषणा गरी सम्मानित गरेको हो । यस बर्षको लागि सिईओ थापा कर्णाली प्रदेशबाट उत्कृष्ट व्यवस्थापक बन्न सफल भएका हुन् । नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सयुक्त रुपमा थापालाई सम्मानित गरेका थिए ।
स्नातकसम्मको अध्ययन पुरा गरेका थापासँग सहकारी क्षेत्रमा २४ बर्षको अनुभव रहेको छ । नेफ्स्कूनको यो सम्मानले सहकारी क्षेत्रमा थप क्रियाशिल रहन हौसला प्रदान गरेको उनले बताए । वीरेन्द्रनगर साकोसमा १९ हजार ३ सय माथि सदस्य रहेका छन् भने गत असार मसान्तमा संस्थाको कुल सम्पत्ति १ अर्ब ४९ करोड पुगेको छ । संस्थाले सदस्यहरुलाई वित्तीय सेवाका साथै विभिन्न सेवा समेत प्रदान गर्दै आएको छ । सहकारी मुल्य, मान्यता र सिद्धान्तमा सञ्चालित उक्त संस्था सदस्यहरुको जीवनस्तर परिर्वतन गर्न निरन्तर क्रियशिल रहेको छ । संस्था यस अघि सहकारी एकीकरण विधामा नेफ्स्कूनबाट सम्मानित भइसकेको छ ।