विपीनको सुरक्षित र शीघ्र रिहाइनिम्ति सरकारले संवाद गरिरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार इजरायलमा हमास समूहले बन्धक बनाएका विपीन जोशीको सुरक्षित र शीघ्र रिहाइका निम्ति हरसम्भव पहलमा जुटिरहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले विपीनको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी रहेको बताएका हुन् । सरकार विपीनको सुरक्षालाई प्राथमिकता दिँदै हरसम्भव पहलमा जुटिरहेको छ । विपीनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावासमार्फत निरन्तर संवाद गरिरहेको छ, प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

उनले विपीनको परिवारका साथमा सरकार रहेको समेत बताएका छन् । इजरायलस्थित हाम्रो दूतावासको समन्वयमा विपीनकी आमा पद्मा र बहिनी पुष्पाले महामहिम राष्ट्रपति आइज्याक हर्जोग र संसद् अध्यक्ष अमिर ओहानासँग भेटेर विपीनको रिहाइको लागि पहल गर्न आग्रह गर्नुभएको छ, प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्, यसअघि मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग गत फागुन २८ गते मैले यस विषयमा ध्यानाकर्षण गर्दै फोन संवाद गरेको थिएँ । प्रधानमन्त्री ओलीले इजरायलमा सहयोग गरिरहेका नेपाली र स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी, सामाजिक अभियन्ता सबैप्रति विशेष धन्यवाद व्यक्त गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *