अमेरिकाको भिसा पाएका साढे ५ करोड मानिसको भविष्य अन्योल
एजेन्सी । ट्रम्प प्रशासनले अमेरिकाको भिसा लिएका ५ करोड ५० लाखभन्दा बढी मानिसको रेकर्ड छानबिन गरिरहेको छ । एसोसिएटेड प्रेसले प्रकाशन गरेको समाचारमा उल्लेख भएअनुसार, अमेरिकाको भिसा लिएका मानिसले आप्रवासन नियमहरूको उल्लंघन गरेको भेटिएमा डिपोर्ट गरिने तयारी छ । वैध रूपमा अमेरिकाको भिसा पाएका मानिसलाई पनि सूक्ष्म निगरानी गरिएको छ । उनीहरूको सानो मात्र पनि गल्ती भेटेमा भिसा रद्द गराउनका लागि ट्रम्प प्रशासन तम्तयार रहेको बताइएको छ । कुनै आपराधिक रेकर्ड भेटिएमा भिसा लिएको मानिस अमेरिका नपुगिसकेको अवस्थामा भिसा खारेज गर्ने र अमेरिका पुगिसकेको भए देशनिकाला गर्ने तयारी रहेको छ ।
‘विदेश मन्त्रालयले भिसा अवधिभन्दा बढी बसेको, आपराधिक क्रियाकलापमा संलग्न रहेको, सार्वजनिक सुरक्षालाई जोखिममा पारेको, कुनै पनि किसिमको आतंकवादी गतिविधिमा संलग्न रहेको वा आतंकवादी संगठनलाई सहयोग गरेको संकेत पाएमा भिसा तत्कालै रद्द गर्नेछ,’ मन्त्रालयका एक प्रवक्ताले बताए । भिसा निवेदन दिने मानिसले सामाजिक सञ्जालमा अमेरिकाविरोधी धारणा राख्ने गरेको भए त्यसलाई पनि विचार गरिने भनी ट्रम्प प्रशासनले मंगलवार घोषणा गरेको थियो । विगतमा अमेरिकाविरोध भन्नाले कम्युनिजमलाई बुझाउने गर्थ्यो । तर, गत जनवरीमा कार्यकाल थालेदेखि ट्रम्प प्रशासनले इजरायलका विषयमा नकारात्मक धारणा राख्ने व्यक्तिलाई भिसा नदिने वा दिइसकेको भए पनि रद्द गर्ने नीति अंगीकार गरेको छ। भिसा निवेदकले यहुदीविरोधी विचारधारालाई प्रवर्धन गरेको छ कि छैन भनी आप्रवासन अधिकारीहरूलाई अनुसन्धान गर्न पछिल्लो निर्देशिकाले सुझाव दिएकोे छ ।