जनश्रमिक साकोसको १७औं साधारणसभा सम्पन्न
काठमाण्डौं । चन्द्रागिरि नगरपालिका वडा नं. ३ थानकोटमा रहको जनश्रमिक बचत तथा ऋण सहकारी संस्थाको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले अध्यक्षमा मोतिरत्न अमात्यलाई निर्विरोध निर्वाचित गरेको छ । त्यसैगरी राजमान श्रेष्ठ उपाध्यक्ष, सुमित्रा श्रेष्ठ सचिव, सन्तोष कुमार श्रेष्ठ कोषाध्यक्ष र ज्ञानेन्द श्रेष्ठ सहसचिवमा निर्वाचित भएका छन् । सञ्चालक समिति सदस्यमा तिर्थबहादुर लामा, दिलदेवी खड्का, नारायण बहादुर महर्जन र हिराबहादुर शाही निर्विरोध निर्वाचित भएको निर्वाचन उपसमितिले जानकारी दिएको छ । संस्थाको लेखा सुपरीवेक्षण समितिको संयोजकमा राजिव श्रेष्ठ तथा सदस्यहरुमा संजिव श्रेष्ठ र सुरोजन श्रेष्ठ निर्वाचित भएका छन् । सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिलाई साधारण सभामा प्रमाणपत्र समेत प्रदान गरिएको थियो । संस्थाका अध्यक्ष मोतिरत्न अमात्यको अध्यक्षमा भएको साधारण सभाको प्रमुख अतिथि चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी रहेका थिए । संस्था सहकारी मुल्य मान्यता र सिद्धान्तमा रही सदस्यको आर्थिक सामाजिक रुपान्तरणमा निरन्तर लाग्नुपर्ने मेयर गिरीले बताए । उनले आफु जनश्रमिकको सुरुदेखि नै सल्लाहकारको रुपमा रहेको भन्दै उनले सदस्यहरुको विश्वासलाई जगेर्ना गर्दै संस्थाले आर्थिक उन्नतिमा साथ दिएको बताए । सहकारी क्षेत्रमा देखिएका विकृतिलाई न्युनिकरण गर्दै सदस्यको समृद्धि लाग्न उनको आग्रह छ । सहकारी ऐन नियमका साथै राष्ट्र बैंकको निर्देशन पालना गर्दै अगाडि बढे संस्था कहिल्यै नडुब्ने उनको भनाई छ । सदस्यहरुको आर्थिक स्तरलाई माथि उठाउन सहकारीको भूमिका महत्वपूर्ण हुने उनले धारणा राखे । संस्थाका अध्यक्ष अमात्यले वार्षिक प्रतिवेदन पेश गर्दै विश्वमा आएको मन्दीको प्रभाव मुलुकको अर्थतन्त्रमा समेत परेकाले सहकारी क्षेत्रले पनि त्यसको सामना गर्नुपरेको बताए । घरजग्गाको कारोबारमा आएको मन्दीका कारण त्यसको असर समग्र क्षेत्रमा पर्दा संस्थाको साँवा ब्याज असुलीमा अप्ठ्यारो परेको उनको भनाई छ ।

सरकारले पनि उत्पादनमूलक क्षेत्रमा ऋण लगानी गरी आय आर्जन वृद्धि गर्ने नीति ल्याउन नसक्दा बेरोजगारी दर बढेर गएको र अनुत्पादक क्षेत्रमा ऋण लगानी भएको उनको भनाई छ । संस्थाको नाफामा वृद्धि गर्न नसकेपछि लाभांश दिन नसकेको बताउँदै उनले बचतमा भने समयसापेक्ष उचित ब्याज प्रदान गर्दै आएको सभामा जानकारी दिए । संस्थाले सुत्केरी पोषण खर्च, औषधी उपचार खर्च र जेष्ठ सदस्यहरुलाई तिर्थाटन गराउने कार्य गर्दै आएको छ । तरलता अभाव भएको अवस्थामा पनि संस्थाले सहकारी बैंक, नेफ्स्कून र कास्कूनबाट कर्जा सापटी लिई सदस्यहरुलाई आवश्यक पर्ने ऋण प्रवाह गरेको अध्यक्ष अमात्यको भनाई छ । जटिल परिस्थितिकाबीचमा पनि सदस्यको विश्वास र सञ्चालक समितिको इमान्दारिताका कारण संस्थालाई जीवित राख्न सकेको उनले बताए । संस्थाले कृषक सदस्यलाई सस्तो मुल्यमा रासायनिक मल उपलब्ध गराउँदै आएको छ ।सो अवसरमा संस्थाले विभिन्न विधामा उत्कृष्ट हुने सदस्यहरुलाई सम्मान तथा पुरस्कार समेत प्रदान गरेको छ । सहकारीप्रति गलत प्रचार बढी भएकाले त्यसलाई रोकी पीडित बचतकर्ताको रकम फिर्ता गराउन राज्यले सहयोग गर्नुपर्नेमा उनको जोड छ । सदस्यको बचत दुरुपयोग गर्ने सहकारीकर्मीलाई कानुनको कठघरामा ल्याई पीडितलाई न्याय दिन आवश्यक रहेको उनले बताए । सहकारी नियमनलाई प्रभावकारी बनाउनुका साथै गठन भएका संरचनालाई प्रवद्र्धनका साथै दण्डसजाय समेतको अधिकार दिनुपर्ने उनको भनाइ छ । सभामा आर्थिक बर्ष २०८१।८२ आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाकी कोषाध्यक्ष सुमित्रा श्रेष्ठले शेयर पुँजी २ करोड ७७ लाख, जगेडा कोष १ करोड १५ लाख र बचत संकलन २४ करोड ३२ लाख पुगेको बताइन् । सभाले कोषाध्यक्षको आर्थिक प्रतिवेदन, सचिवको बार्षिक प्रतिवदेन र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदनलाई समेत पारित गरेको छ ।