ललितपुर क्विन्सलाई र आईएमई जनरल इन्स्योरेन्स (आईजीआई)बीच प्रायोजनको सम्झौता
काठमाडौँ । एभरेष्ट महिला भलिबल लिग टोली ललितपुर क्विन्सलाई र आईएमई जनरल इन्स्योरेन्स लिमिटेड (आईजीआई) बीच शुक्रबार प्रायोजनको सम्झौता भएको छ । काठमाडौँ स्थित आईजीआईको प्रधान कार्यालयमा ललितपुर क्विन्सका अध्यक्ष रमेश पराजुली र आईजीआईका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरी प्रयोजनलाई औपचारिकता दिए । सम्झौता अनुसार ललितपुरले आफ्नो म्याच जर्सीमा आईजीआईको लोगो समावेश गर्ने छ र आईजीआईको प्रचार प्रसारमा सहयोग गर्ने छ । सम्झौताको दौरान ललितपुर क्विन्सलाई साथ दिन पाउँदा आईजीआई खुसी रहेको साथै प्रतियोगितामा ललितपुरको उच्च प्रदर्शन रहनेमा आफूहरू विश्वस्त रहेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।
ललितपुर क्विन्सलाई विश्वास गरि साथ दिनु भएकोमा क्लबका अध्यक्ष पराजुलीले सम्पूर्ण आईजीआई परिवारलाई धन्यबाद व्यक्त गर्दै टोलीको प्रदर्शन यो संस्करण पनि उत्कृष्ट रहने प्रतिबद्धता जनाए । घरेलु भलिबलमा सफल प्रशिक्षक मध्य एक उत्सव खड्काको नेतृत्वमा ललितपुर क्विन्सको टोली कोर्टमा उत्रनेछ । टोलीको मार्की खेलाडी तथा कप्तान सलिना श्रेष्ठ रहेका छन् भने ललितपुरले अक्सन बाट संगम महतो, लक्ष्मी चन्द, सुनिता राइ, सलिना बूढा मगर, निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगीलाई टोलीमा समावेस गरेको थियो । ललितपुरले आफ्नो गुडविल एम्बासडरमा दीक्षिण एसियाली खेलकुदको तीन स्वर्ण पदक विजेता आयशा शाक्यलाई नियुक्त गरेको छ । दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग भदौ २० देखि २८ सम्म हुनेछ ।