एकै दिन हिमालयन डिस्टीलरीको १ अर्ब ७५ करोडको सेयर खरिदबिक्री
काठमाडौं । हिमालयन डिस्टीलरीको मात्रै १ अर्ब ७५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साताको कारोबारको पहिलो दिन आइतबार कारोबारको सुरुवाती चरणमै एकैपटक ठुलो मात्रामा सेयर कारोबार भएको कम्पनीको बन्द हुने समयसम्म कुल १ अर्ब ७५ करोड ७९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कुल ६ अर्ब ६४ करोडको कारोबार भएकोमा हिमालयन डिस्टीलरी एक्लैको झण्डै दुई अर्ब हाराहारीको कारोबार भएको हो । आइतबार कम्पनीको सेयर मूल्य ३.७९ प्रतिशतले बढ्दै १४२३.९० रुपैयाँ प्रतिकित्ता पुगेको छ । यस कम्पनीको संस्थापकतर्फको अधिकांश सेयर राजबहादुर शाहको स्वामित्वमा रहेको छ ।
नेप्सेमा कम्पनीको ३ करोड ७ लाख ३४ हजार १८ कित्ता नेप्सेमा सूचीकृत छ जसमध्ये १ करोड ७८ लाख २५ हजार ७३० कित्ता अर्थात् ५८ प्रतिशत सेयर संस्थागत छ । यस्तै, ४२ प्रतिशत अर्थात् १ करोड २९ लाख ८ हजार २८८ कित्ता सेयर भने सर्वसाधारणको स्वामित्वमा छ । गत आर्थिक वर्ष २०८१।८२ को अपरिस्कृत चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा ९५ करोड ३२ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा ३६ करोड ५० लाख रुपैयाँ थियो । कम्पनीको बिक्री आम्दानी बढेपछि नाफामा प्रभाव देखिएको हो । कम्पनीको सञ्चालन आम्दानी गत आर्थिक वर्ष ७ अर्ब २० करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष यस्तो आम्दानी जम्मा ४ अर्ब १५ करोड थियो । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको देखिन्छ । अघिल्लो आर्थिक वर्ष प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८८ पैसा रहेकोमा गत आर्थिक वर्ष ३१ रुपैयाँ २ पैसा छ । प्रतिसेयर नेटवर्थ १३५.८४ रुपैयाँ रहेको कम्पनीको बजारमा सेयर मूल्य १४२३ रुपैयाँ छ ।