रुपन्देही–३ उपनिर्वाचनमा कांग्रेसको आकांक्षी को–को ?
काठमाडौँ । आगामी कात्तिक १७ गते रुपन्देही–३ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका सन्दर्भमा आवश्यक तयारीका लागि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा भदौ १ गते रुपन्देही गए । शर्माले त्यहाँ रहँदा निर्वाचनमा पार्टीको अवस्था कस्तो छ र जित्नका लागि के–के गर्नुपर्छ भनेर आफ्नै पार्टीका विभिन्न तहका नेता–कार्यकर्तासँग कुराकानी गरे । नेपाली कांग्रेसको रुपन्देही प्रतिनिधि सभा क्षेत्र नं ३, क्षेत्रीय समितिका अनुसार शर्माले त्यहाँ रहँदा पार्टीको क्षेत्रीय समिति (प्रतिनिधिसभा,प्रदेशसभा) सभापति, वडा सभापति तथा भ्रातृसंस्था र शुभेच्छुक संस्थाका प्रमुखहरूसँग छलफल गरे । पार्टीबाट जितेका पालिका र वडाका प्रमुख र सदस्य तथा पार्टीमा महासमिति र महाधिवेशन प्रतिनिधिहरूसँग पनि उनले छलफल गरे । उनले विभिन्न निर्वाचनमा प्रत्यासी भएकासँग पनि छलफल गरे । कांग्रेस रुपन्देही– ३ का सभापति सुशील गुरुङले महामन्त्री शर्मा उपनिर्वाचनका सन्दर्भमा दुई पटक जिल्लामा पुगेको बताए । महामन्त्री शर्मा पहिलो पटक साउनमा र दोस्रो पटक भदौ पहिलो साता आएर वस्तुस्थितिबारे अध्ययन गरेको गुरुङको भनाइ छ । गुरुङले रातोपाटीसँग भने, ‘उहाँले पार्टीका विभिन्न तहको जिम्मेवारीमा रहनु भएका, पार्टीको तर्फबाट उम्मेदवार भएर जनप्रतिनिधि बन्नुभएका र प्रत्यासी भएकासँग छलफल गर्नुभयो । छलफलमा पार्टीले निर्वाचन जित्नका लागि के के गर्नुपर्छ भनेर सुझाव माग्नुभयो । कांग्रेसले यसअघि साउन ९ गते पदाधिकारी बैठकमा पार्टीका लुम्बिनी सभापति अमरसिंह पुन, रुपन्देही सभापति रामकृष्ण खाँण, २०७९ को निवाचनमा प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका केन्द्रीय सदस्य बालकृष्ण खाँणसहितलाई बोलाएर ब्रिफिङ लिएको थियो । वस्तुस्थितिबारे अध्ययन गरे पनि कांग्रेसले उम्मेदवारको बारेमा औपचारिक कुराकानी गरेको छैन । रुपन्देही–३ का सभापति गुरुङले उम्मेदवारका आकांक्षीको सिफारिस गर्न केन्द्रबाट औपचारिक पत्र नआएको बताए । गुरुङले भने, ‘अब केही दिनमा पत्र आउँला । अनौपचारिक रूपमा भदौ तेस्रो सातासम्म उम्मेदवार टुङ्ग्याउने सुन्नमा आएको छ । औपचारिक पत्र आएपछि थाहा होला । कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले महामन्त्री शर्मा दुई पटक स्थलगत अवलोकनमा आएर निर्वाचनमा साथीहरू परिचालन कसरी गर्ने ? के–के समस्या छन् ? समाधानका लागि के गर्नुपर्छ भनेर छलफल गरे पनि उम्मेदवारका विषयमा औपचारिक पत्र र छलफल नभएको बताउँछन् । ‘महामन्त्रीज्यू दुई पटक आएर निर्वाचनमा पार्टी परिचालन समस्या र समाधानका उपायबारे छलफल गर्नुभयो । ‘उम्मेदवार सिफारिसबारे केन्द्रबाट अहिलेसम्म औपचारिक पत्र आएको छैन । छलफल पनि भएको छैन ।’
कांग्रेस स्रोतका अनुसार पूर्वमन्त्री तथा सोही निर्वाचन क्षेत्रमा २०७९ को निर्वाचनका प्रत्यासी बालकृष्ण खाण उम्मेदवार बन्न चाहे उनलाई नै उपनिर्वाचनमा उम्मेदवार बनाउने तयारी छ । उनले इच्छा नदेखाएमा पहिलो नम्बरमा रामचन्द्र ढकाल छन् । २०७९ को निर्वाचनमा प्रदेश सभा सदस्यमा ढकाल पराजित भएका थिए । ढकाल पुराना नेता भएकाले युवा पुस्ताको मत नआउने हो कि भन्ने नेता कार्यकर्ता बताउँछन् । ढकाल संस्थापन इतर समूहका नेता हुन् । ढकालले आफू उपनिर्वाचनमा उम्मेदवारको आकांक्षी भएको बताए । ‘म उपनिर्वाचनमा उम्मेदवारको आकांक्षी हो । लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय भएकाले पार्टीले टिकट दिएमा जित्छु भन्ने विश्वास छ । ‘पार्टीको जिल्ला पूर्वसभापति र प्रजातन्त्र आएपछि निरन्तर कांग्रेसकै राजनीतिमा सक्रिय भएकाले मेरो योगदानको कदर गर्दै पार्टीलाई टिकट दिन आग्रह गरेको छु।’ दोस्रो नम्बरमा विमल ढकाल छन् । त्यही क्षेत्रका महासमिति सदस्य,महाधिवेशन प्रतिनिधि ढकाल व्यवसायी र युवा हुन् । उनी भने अहिलेसम्म निर्वाचन नलडेका ‘अनटेस्टेड’ अनुहार हुन् । विमल इतर समूहका नेता डा. शेखर कोइरालासँग निकट भए पनि रुपन्देहीमा बालकृष्ण खाणसँगै छन् । तेस्रो नम्बरमा पुस्पा थरुनी छन् । थरुनी जनजाति महिला र २०७४ सालको निर्वाचनमा लुम्बिनी प्रदेशमा समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य थिइन् । महिला, त्यसमाथि जनजाति भएकाले थरुनीको सम्भावना देखिन्छ । थरुनी संस्थापन पक्षतिर छिन् । त्यसपछि पार्टीका क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति गुरुङको पनि आकाङ्क्षीमा रहेको नेताहरू बताउँछन् । गुरुङ पनि सार्वजनिक निर्वाचनमा नहोमिएका ‘अनटेस्टेड’ अनुहार हुन् । गुरुङ १४ औँ महाधिवेशन अघिससम्म तत्कालीन संस्थापन (अहिलेको इतर)समूहसँग थिए । १४ औँ महाधिवेशनका बेलामा अहिलेको संस्थापन समूहसँग नजिक भएर उम्मेदवार बन्दै क्षेत्रीय सभापति भएका हुन् ।