श्री मितेरी सहकारीले मनायो १९ औं स्थापना दिवस
इन्द्रसरोवर गाउँपालिका ५ फाकेलमा रहेको श्री मितेरी बचत तथा ऋण सहकारी संस्थाले १९ औ स्थापना दिवस संस्थाका अध्यक्ष धनराज मर्हजनको अध्यक्षता तथा सोही गाउँपालिकाका निवर्तमान अध्यक्ष जीवन लामाको प्रमुख आथित्यतामा संस्थाले स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा संस्थाले सञ्चालनमा ल्याएको आधारभूत कम्युटर कक्षाको समापन कार्यक्रम समेत गरेको छ । कम्प्युटर कक्षा सहभागिहरुलाई सो अवसरमा प्रमाण पत्र समेत प्रदान गरिएको थियो । संस्थाले गत आर्थिक बर्ष २०८१।८२ मा सदस्यले गरेको वित्तीय कारोबारको आधारमा विभिन्न विधामा सम्मानको लागि नाम समेत घोषणा गरेको छ । सो अवसरमा संस्थाका पूर्व अध्यक्ष,सञ्चालक समिति,लेखा सुपरीवेक्षण समिति, कर्मचारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।

२०६४ सालमा स्थापना भएको उक्त संस्थाले सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणको लागि निरन्तर कार्य गर्दै आएको छ । ‘सदस्य केन्द्रीत सुशासित मितेरीमा आवद्ध,सम्वृद्ध व्यवसायिक उद्यमशीलतामा समतामुलक संरचनाको प्रतिवद्धता’ भन्ने ध्येयका साथ संस्थाले सदस्यहरुलाई वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थाका व्यवस्थापक सरोज थापा मगरले सदस्यहरुमा सीप विकास गरी स्वरोजगार बनाउन विभिन्न तालिम सञ्चालन गर्दै आएको बताए । उनले सदस्य सुरक्षा तथा हेरचाह कार्यक्रममार्फत् सदस्यहरुलाई विभिन्न सुविधा उपलब्ध गराउँदै आएको जानकारी दिए । सदस्यहरुलाई सहुलियत ब्याजदरमा ऋण लगानी गरी उनीहरुको आय आर्जनमा संस्थाले सहयोग पु¥याएको उनको भनाई छ । मितेरी युवा क्लबको नामबाट सुरु गरिएको कल्याणकारी कोषलाई २०६४ सालमा सहकारीमा रुपान्तरण गरिएको उनले बताए । २८ जना शेयर सदस्य र ५६ सय पुँजीबाट सुरु भएको संस्थामा अहिले कुल सम्पत्ति २० करोड ९३ लाख पुगेको छ । हाल संस्थामा २ हजार १३५ जना सदस्य आवद्ध रहेका छन। सो अवसरमा ऋण सदस्य राजकुमार बलामीलाई बीमा बापतको १ लाख ६० हजारको चेक हस्तान्तरण गरिएको थियो ।