इसेवाले ‘इसेवा बिजनेस लिंक’सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो र अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा लिमिटेडले नयाँ सुविधा ‘इसेवा बिजनेस लिंक’ सार्वजनिक गरेको छ । व्यवसायी, व्यापारी र उद्यमशील युवालाई लक्षित यो सुविधा मार्फत अब एउटै इसेवा एप प्रयोग गरी व्यक्तिगत र व्यवसायिक दुवै खाता सहज रूपमा व्यवस्थापन गर्न सकिने भएको छ । कम्पनीका अनुसार, ‘इसेवा बिजनेस लिंक’ मा ‘स्विफ्ट अकाउन्ट स्विच फिचर’ समेत उपलब्ध हुनेछ, जसले वित्तीय कारोबारलाई अझ सहज र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।
यसअघि व्यक्तिगत तथा व्यवसायिक कारोबारका लागि छुट्टाछुट्टै खाता र एप प्रयोग गर्नुपर्ने बाध्यता रहँदै आएकोमा नयाँ सुविधाले यो झन्झटलाई अन्त्य गर्नेछ । यस नयाँ सेवाबाट एउटै एपमा तत्काल खाता स्विच गरी दुवै खाताको कारोबार नियमन र व्यवस्थापन गर्न सकिनेछ । साथै, ‘इसेवा बिजनेस लिंक’ ले तत्काल नगद व्यवस्थापन, बिना शुल्क उपलब्ध हुने बिजनेस क्यूआर सुविधा र दैनिक कारोबारको हिसाबकिताब राख्ने प्रणालीलाई समेत सरल बनाएको कम्पनीले जनाएको छ ।