भारतलाई अमेरिकाले बढाएको भन्सार बहाना मात्र भएको अमेरिकी उपराष्ट्रपतिको टिप्पणी

काठमाडौं । अमेरिकाका उपराष्ट्रपति जे.डी. भेन्सले भारतलाई अमेरिकाले बढाएको भन्सार शुल्क केवल बहाना मात्र भएको टिप्पणी गरेका छन् ।

उनले एनबीसी न्युजसँग गरेको एक कुराकानीमा भारतमाथि भन्सार शुल्क बहाना मात्रै भएको र खास निसाना रूस रहेको बताएका हुन् । उनले भारतविरुद्ध भन्सार शुल्क लगाएर रूसमाथि कडा आर्थिक दबाब सिर्जना गरिएको तर्क गरेका छन् । ‘राष्ट्रपतिले कडा आर्थिक दबाब सिर्जना गर्नुभएको छ । उदाहरणका लागि, भारतमाथि सेकेन्डरी भन्सार शुल्क लगाइयो ताकि रूसले आफ्नो तेलको कारोबारबाट धनी बन्न नसकोस्,’ उनले भने ।

उनले थपे, ‘राष्ट्रपति ट्रम्पले यदि रूसले हत्या र युद्ध बन्द गर्छ भने उसलाई फेरि विश्व अर्थतन्त्रमा समावेश गर्न सकिने प्रस्ट पारिसक्नुभएको छ।’ रूसले युद्ध नरोके ऊ एक्लिनुपर्ने उनले चेतावनी दिए । ‘तर यदि रूसले यो रोकेन भने उसलाई एक्लै रहनुपर्ने हुन्छ’ उनले भने, ‘राष्ट्रपति ट्रम्पले रूसमाथि यो युद्ध रोक्नका लागि त्यति ठूलो आर्थिक दबाब सिर्जना गर्नुभएको छ, जुन बाइडेनले तीन वर्षमा पनि गर्न सकेनन्।’ हालसालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि २५ प्रतिशतको भन्सार शुल्क लगाएका थिए।

पछि उनले भारतले रूसबाट तेल र हतियार खरिद गरेर युक्रेनविरुद्धको युद्धमा मद्दत गरिरहेको भन्दै थप २५ प्रतिशत भन्सार शुल्क लगाइदिए। यो नयाँ दर २७ अगस्टदेखि लागु हुनेछ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *