९१ लाख सहित पक्राउ परेका युवक अनलाइन गेमिङ र क्रिप्टो कारोबारमा संलग्न
काठमाडौँ । ललितपुरको भनिमण्डलबाट पक्राउ परेका युवक अनलाइन गेमिङ र क्रिप्टो करेन्सी कारोबारमा संलग्न रहेको भेटिएको छ । सिन्धुलीको पिपलभञ्ज्याङ घर भएका २५ वर्षीय गौरव स्याङतान सोमबार साँझ ललितपुर महानगरपालिका–४ स्थित भनिमण्डलबाट पक्राउ परेका हुन् । उनी अनलाइन गेमिङ र क्रिप्टो कारोबारमा संलग्न रहेको भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए ।
उपत्यका प्रहरी कार्यालय र ललितपुरबाट खटिएको प्रहरीले उनको डेराबाट ९१ लाख ५० हजार नगद र १ थान पैसा गन्ने मेशिन बरामद गरेको छ । उनको डेरामा १ केजी ५ सय ग्राम गाँजा पनि भेटिएको एसएसपी अधिकारीले बताए । अनलाइन गेमिङ र क्रिप्टो कारोबारमा प्रयोग गरिएको ११ थान मोबाइल, आइप्याड र ल्यापटप प्रहरीले बरामद गरेको छ । उनीमाथि जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।