सभापति ईश्वरीदेवी निर्विरोध चयन, आजै पद तथा गोपनीयताको शपथ
काठमाडौँ । प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा ईश्वरीदेवी न्यौपाने निर्विरोध चयन भएकी छन् ।
समितिका ज्येष्ठ सदस्य सर्वेन्द्र नाथ शुक्लाको अध्यक्षतामा आज बसेको बैठकमा उनलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो । समितिका यसअघिका सभापति पदमा काँग्रेसका रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त सभापति पदमा न्यौपानेको मात्र उम्मेदवारी परेको थियो । बैठकमा समिति सदस्य खतिवडाले न्यौपानेलाई सभापति निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई नेकपा (एमाले) का सांसद कृष्णगोपाल श्रेष्ठले समर्थन जनाएका थिए ।
समिति सभापति निर्वाचित न्यौपानेले आजै सभामुखसँग पद तथा गोपनीयताको शपथ लिने छिन् । यसअघि उनी तत्कालीन संविधानसभामा सदस्य थिइन् भने पार्टीका तर्फबाट संसदीय दलको सचेतकको भूमिका समेत निर्वाह गरिसकेकी छन् ।