नेपालबाट आतंकवादी भारतको बिहार प्रवेश गरेको भन्दै सुरक्षा व्यवस्था कडा
काठमाडौं । पाकिस्तानी आतंकवादी संगठन जैश–ए–मोहम्मदका तीन सदस्य नेपाल सीमाबाट बिहार प्रवेश गरेको गुप्तचर सूचनापछि बिहीबार बिहार प्रहरी मुख्यालयले सम्पूर्ण राज्यभर उच्च सतर्कता जारी गरेको छ । नेपालको बाटो हुँदै जैश–ए–मोहम्मद समूहका तीन जना आतंकवादी भारतको बिहारमा प्रवेश गरेको भन्दै सुरक्षा व्यवस्था कडा पारिएको हो ।
आतंकवादी घुसेको भन्दै भारतको प्रहरी मुख्यालयले सुरक्षाकर्मीलाई हाई अलर्टमा राखेको र गुप्तचर निकायलाई पनि परिचालन गरेको भारतीय मिडियाहरुले जनाएका छन् । जैश ए मोहम्मदका हसनैन अली, आदिल हुसैन र मोहम्मद उस्मान नेपालको बाटो हुँदै भारतमा घुसेको इन्डिया टुडेको समाचारमा उल्लेख छ । समाचारमा लेखिए अनुसार उनीहरु तीनैजना पाकिस्तानी नागरिक हुन् । उनीहरु भारतमा घुसेको सूचनाले सुरक्षा निकायमा हलचल पैदा भएको समाचारमा उल्लेख छ ।
तर उनीहरु नेपाल–भारत सीमाको कुन नाका भएर बिहार प्रवेश गरे र कहिले प्रवेश गरे भन्ने समाचारमा उल्लेख छैन । सुरक्षा निकायहरूलाई निगरानी कडाइ गर्ने र थप जानकारी संकलन गर्ने निर्देशन दिइएको छ । जिल्ला गुप्तचर इकाइलाई शंकास्पद गतिविधि देखिए आवश्यक कारबाही गर्न भनिएको छ।