रास्वपा केन्द्रीय सदस्य अरनिको पाँडेलाई चार दिन थुनामा राख्न अनुमति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा. अरनिको पाँडेलाई साइबर अपराधको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंले उनलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले बुधवार पाँडेलाई पक्राउ गरेको हो । एक महिलाले सामाजिक सञ्जाल र ह्वाट्सएपमार्फत अश्लील र आपत्तिजनक सन्देश पठाएको भन्दै दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।
उनीमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान भइरहेको छ । पाँडेनिकट रास्वपा कार्यकर्ताहरूले भने यो पक्राउलाई राजनीतिक प्रतिशोध भएको बताएका छन् । पक्राउपछि पूर्वमन्त्री तथा सांसद सुमना श्रेष्ठ पाँडेलाई भेट्न साइबर ब्यूरो पुगेकी थिइन् ।