अफगानिस्तान भूकम्प मृत्यु हुनेको सङ्ख्या ६२२
काठमाडौँ । अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ६२२ जना पुगेको छ ।
नङ्गरहार प्रान्तको जलालावाद सहरबाट १७ किलोमिटर उत्तरपूर्वी भूभागलाई केन्द्रबिन्दु बनाएर आइतबार राति ११स्४७ बजे ६ म्याग्निच्युडको भूकम्प गएको हो । सोमबार दिउँसोसम्म मृत्यु हुनेको सङ्ख्या ६२२ पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। घाइतेको सङ्ख्या पनि बढेर १५ सय नाघेको तालिबान सरकारको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।
पाकिस्तानसँग सिमानजिकै भूकम्पको केन्द्रबिन्दु भएकाले धक्का पाकिस्तानको राजधानी इस्लामावादसम्म महसुस गरिएको थियो । भूकम्पले ग्रामीण बस्तीहरू तहसनहस बनाएको छ । कुनार र नङ्गरहार प्रान्तमा मानवीय र भौतिक क्षति बढी भएको छ। रोयटर्सका अनुसार कुनारमा मात्रै ६१० जनाको मृत्यु भएको छ । १२ जना नङ्गरहारका छन्।