नबिल म्युचुअल फण्डअन्तर्गतको ‘एन आई ३१’ योजनाको इकाई बाँडफाँट सम्पन्न
काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गतको ‘एन आई ३१ नामक खुलामुखी योजनाको इकाई बाँडफाँट सम्पन्न भएको छ । योजनाअन्तर्गत प्रति इकाई अंकित मूल्य १० रुपैयाँका दरले कुल २ करोड ५० लाख इकाईमध्ये पहिलो चरणमा १ करोड ५० लाख इकाई निष्काशन गरिएको थियो। सोमध्ये योजना व्यवस्थापकका लागि १५ प्रतिशत अर्थात् ३७ लाख ५० हजार इकाई सुरक्षित राखी बाँकी १ करोड १२ लाख ५० हजार इकाई सर्वसाधारणका लागि खुला गरिएको थियो ।
सर्वसाधारणका लागि खुला गरिएको इकाई २०८२ साउन ३० गतेदेखि भदौ ३ गतेसम्म आवेदनका लागि उपलब्ध गराइएको थियो । प्राप्त आवेदनहरूको छानबिनपछि योग्य आवेदकलाई इकाई बाँडफाँट गर्ने सम्बन्धमा मिति २०८२ भदौ ११ गते नमूना तालिका तयार गरी नेपाल धितोपत्र बोर्डमा पेश गरिएको थियो । बोर्डबाट उक्त तालिकामा कुनै निर्देशन प्राप्त नभएकाले सोही आधारमा सोमबार बिहान १० बजे नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको नक्सालस्थित कार्यालयमा औपचारिक रूपमा इकाई बाँडफाँट कार्यक्रम सम्पन्न गरिएको हो ।