गोंगबुमा ४ करोड नगद र २ किलो सुनसहित पक्राउ
काठमाडौं । प्रहरीले गोंगबुस्थित एक घरमा छापा मारेर ठूलो परिमाणमा पैसा र सुन बरामद गरेको छ । मंगलबार दिउँसो करिब तीन घण्टा चलेको अपरेशनमा प्रहरीले ३ करोड ७५ लाख रुपैयाँभन्दा बढी नगद र करिब दुई किलो सुनका गरगहना बरामद गरेको हो ।
विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसरको संयुक्त टोलीले घरमा छापा मारेको हो । गोरखाका ७७ वर्षीय विनोदकुमार श्रेष्ठ नै उक्त घरको घरधनी रहेको र उनलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार श्रेष्ठले मिटरब्याजमा रकम लगाउने र सुन धितो राख्ने गरेका थिए । बरामद रकम र सुनको स्रोतबारे प्रहरीले अनुसन्धान भइरहेको छ ।