खाद्य उद्योगलाई अनलाइनबाटै अनुमति
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य उद्योग दर्ता, अनुमतीपत्र जारी तथा नवीकरणका लागि ‘नेपाल फुड एण्ड फिड इन्डष्ट्री लाइसेन्सिङ सिस्टम (नेफिल्स)’ नामक अनलाइन प्रणालीको शुभारम्भ गरेको छ । सरकारी सेवालाई अनलाइनमार्फत सहज बनाउने विभागको रणनीतिअन्तर्गत विभागले आफ्नो वेभसाइटमार्फत यो सेवा उपलब्ध गराइएको हो । मंगलबार आयोजित उद्घाटन कार्यक्रममा विभागमा महानिर्देशक सञ्जीव कुमार कर्माचार्यले प्रणालीको उद्घाटन गर्दै त्यसको महत्वबारे प्रकाश पारे । कार्यक्रममा काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक क्षेत्रका ७० भन्दा बढी खाद्य उद्योगी तथा विभिन्न छाता संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूलाई नेफिल्स प्रणालीबाट सेवा कसरी लिने भन्नेबारे डेमोन्स्ट्रेसन र भिडियोमार्फत जानकारी गराइएको थियो। कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरूले यस प्रणालीबाट छिटो, छरितो र पारदर्शी सेवा प्राप्त हुनुपर्नेमा जोड दिए ।
यद्यपि, उनीहरूले प्रणालीको सफलता विभागका कर्मचारीहरूको तत्परता र सहयोगमा निर्भर रहनेमा जोड दिएका छन्। महानिर्देशक कर्माचार्यले यो प्रणाली खाद्य स्वच्छता तथा गुणस्तर ऐन अनुसार उक्त प्रणालीको विकास गरिएको जानकारी दिए । यो प्सरणालीबाट दर्ता, अनुमतिपत्र र नवीकरण सेवाहरू उपलब्ध हुनेछन्। महानिर्देशक कर्माचार्यले यो प्रणाली ‘पेपरलेस’ र ‘फेसलेस’ हुने भएकाले सेवाग्राहीले आफ्ना निवेदनको स्थिति (पेन्डिङ, स्वीकृत वा अस्वीकृत) अनलाइनबाटै हेर्न सक्ने बताए । यसबाट इमेलमार्फत सूचना प्राप्त हुने, अभिलेखहरू सुरक्षित र डिजिटल रूपमा भण्डारण हुने, तथा पारदर्शिता र जवाफदेहिता वृद्धि हुने जस्ता थुप्रै फाइदाहरू रहेको उनले जानकारी दिए । उद्योगीहरूले देशका जुनसुकै स्थानबाट पनि इन्टरनेट प्रयोग गरी सेवामा पहुँच पाउने हुँदा कार्यालय धाउनुपर्ने झन्झटबाट मुक्ति मिल्ने र समय, श्रम तथा खर्चमा ठुलो बचत हुने कर्माचार्य बताउँछन् । हाल यो प्रणाली काठमाडौँ र हेटौँडास्थित कार्यालयहरूबाट सञ्चालनमा आएको छ भने विभागले चाँडै नै यसलाई देशभरका सबै कार्यालयहरूमा विस्तार गर्ने योजना बनाएको छ। विभागले सेवाग्राहीको सुझाव र प्रतिक्रियालाई आत्मसात गर्दै प्रणालीलाई निरन्तर सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।