सिटिजन लाइफको रेटिङ अपग्रेड, बीमा दाबी भुक्तानी क्षमता अब्बल
काठमाडौँ । इक्रा नेपालले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इश्युअर रेटिङ आइसीआरए एनपी–आइआर ट्रिपल बीबाट आइसीआरए एनपी–आइआर ट्रिपल बी प्लसमा अपग्रेड गरेको छ । रेटिङ अपग्रेडेको प्रमुख आधार कम्पनीको उत्कृष्ट व्यावसायिक वृद्धि रहेको छ । गत आर्थिक वर्षमा कम्पनीले कुल बीमा प्रिमियम आम्दानीमा अघिल्लो वर्षको तुलनामा करिब २१ प्रतिशत वृद्धि गर्न सफल भएको छ, जुन सोही अवधिमा उद्योगको औसत वृद्धि करिब १४ प्रतिशत मात्र रहेको थियो । यससँगै कम्पनीको सोल्भेन्सी प्रोफाइल समेत उल्लेख्य सुधार भएको छ । गत वर्षमा कम्पनीले समग्र उद्योगको कुल बीमा प्रिमियम आम्दानीमा ४ प्रतिशत बजार हिस्सेदारी कायम गर्न सफल भएको छ भने प्रतिस्पर्धीहरूमाझ करिब २२ प्रतिशत बजार हिस्सेदारी लिन सफल भएको छ । कम्पनीले सन् २०२३ सेप्टेम्बरमा आफ्नो आइपीओ सम्पन्न गरेपछि सोल्भेन्सी रेसियो अनुपातमा समावेश गर्दा २०२४ जुलाई मध्यसम्म आइपुग्दा कम्पनीको सोल्भेन्सी प्रोफाइल ३.४२ गुणा पुगेको छ । यो स्तर रिस्क बेस्ड क्यापिटल एण्ड सोल्भेन्सी फ्रेमवर्क २०२४ अन्तर्गतको न्यूनतम आवश्यकता १.३० भन्दा धेरै उच्च हो । २०२३ जुलाई मध्यमा भने यो अनुपात १.३५ गुणा मात्र थियो जुन त्यतिबेलाको पुरानो मार्गदर्शन अनुसार गणना गरिएको थियो । सिटिजनले आफ्नो व्यावसायिक पोर्टफोलियोमा करिब ९० प्रतिशत हिस्सा एन्डाउमेन्ट आधारित योजनाबाट राखेको छ, जसलाई स्थायी व्यवसायिक संरचना मानिन्छ ।
लगानीको हिसाबले पनि कम्पनीले करिब ८३ प्रतिशत हिस्सा फिक्स्ड डिपोजिट र डेबेन्चरमा जसलाई क्लास ए बैंकले जारी गरेका छन्, सुरक्षित रूपमा लगानी गरेको छ । यी पक्षहरूलाई रेटिङको सकारात्मक आधारका रूपमा हेरिएको हो । यस्तै, कम्पनीको रिइन्स्योरेन्स अर्रेन्जमेन्ट सन्तोषजनक रहेको छ, जसमा ठूलो प्राकृतिक विपद्का लागि समेत सुरक्षा व्यवस्था मिलाइएको छ । यसले कम्पनीलाई दाबी चुक्ता गर्ने क्षमतामा विश्वसनीयता प्रदान गरेको छ । कम्पनीको देशव्यापी उपस्थिति उल्लेख्य छ । कम्पनीसँग २०२५ अप्रिल मध्यसम्म १३६ वटा नेटवर्क पोइन्ट रहेका छन्। सशक्त एजेन्सी च्यानल र अनुभवी व्यवस्थापन टोलीले समेत कम्पनीलाई थप बल प्रदान गरेको छ । हाल १४ वटा जीवन बीमा कम्पनीबीच प्रतिस्पर्धा भइरहेको बीमा उद्योगमा सिटिजन लाइफले आफ्नो छुट्टै स्थान बनाइराखेको छ । कम्पनी सन् २०१७ अक्टोबरदेखि सञ्चालनमा आएको हो । कम्पनीलाई नेपालकै बीमा क्षेत्रको नियामकबाट अनुमति प्राप्त छ । यसको केन्द्रीय कार्यालय काठमाडौंको थापाथलीमा रहेको छ । २०२५ अप्रिल मध्यसम्म कम्पनीका प्रमुख प्रवद्र्धकहरूमध्ये कान्तिपुर पब्लिकेशन्स प्राइभेट लिमिटेडको करिब ५.२ प्रतिशत हिस्सा, सुमित कुमार अग्रवालको करिब ५.२ प्रतिशत हिस्सा, प्रदीपजंग पाण्डेको करिब ३.७ प्रतिशत हिस्सा रहेको छ । अन्य प्रवद्र्धकहरू पनि रहेका छन् । कम्पनीको प्रवद्र्धक स् साधारण शेयरधनी अनुपात ७०ः३० रहेको छ ।