दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द हुने सङ्केत

काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्महरू निष्क्रिय हुन सक्ने सङ्केत गरेका छन् ।

यसअघि उनकै पार्टीका महासचिव शङ्कर पोखरेलले पनि यस्तै सङ्केत दिएका दिएका थिए । रिमालले सर्वोच्च अदालतको आदेशलाई आधार बनाउँदै केही अवाञ्छित तत्त्व र गैर जिम्मेवार व्यक्तिहरूका गतिविधिका कारण यस्तो अवस्था आएको उल्लेख गरेका छन् । अदालतले नेपालभित्र सम्पर्क विन्दु, स्वनियमन र गुनासो सुन्ने अधिकारी तोकेर कम्पनी दर्ता नभएसम्म प्लेटफर्महरूमा रोक लगाउने आदेश दिएको छ ।

रिमालले भनेका छन्, ‘सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्महरू हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा बनेका छन्। प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्मले यी माध्यमबाट आफ्ना गतिविधि र भावना साझा गर्छन् । तर, यदि यी प्लेटफर्महरू बन्द भए भने के होला ? केही असामाजिक तत्त्व र गैर जिम्मेवार व्यक्तिका कार्यले गर्दा सर्वोच्च अदालतले नेपालमा सम्पर्क विन्दु, स्वनियमन र गुनासो सुन्ने अधिकारी नियुक्त गरी कम्पनी दर्ता नभएसम्म रोक लगाउने आदेश जारी गरेको छ । सम्भवतः दर्ता नभएका सबै सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्महरू निष्क्रिय हुनेछन् । आशा छ, यी प्लेटफर्महरू चाँडै दर्ता होऊन् र हामीले पुनः यिनको प्रयोग गर्ने वातावरण प्राप्त गरौं ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *