प्रभु महालक्ष्मी लाइफको ‘क्लव एचिभर्स अवार्ड सेरेमोनी’ सम्पन्न
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले २०८१।८२ सालको क्लव एचिभर्स अवार्ड सेरेमोनी पोखरामा भव्यताका साथ सम्पन्न गरेको छ । भाद्र १६ देखि १९ गतेसम्म चलेको चारदिने कार्यक्रममा देशभरिका उत्कृष्ट अभिकर्ता तथा उच्च व्यवस्थापकहरूको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन कम्पनीका सञ्चालक समिति सदस्य समशेर पराजुलीले दीप प्रज्वलन गरेर गरेका थिए । सो अवसरमा उत्कृष्ट व्यवसाय गर्दै चेयरम्यान क्लव, सीइओ क्लव र कर्पोरेट क्लवमा स्थान पाएका अभिकर्ताहरूलाई विशेष सम्मान गरिएको थियो ।
सञ्चालक समिति सदस्य पराजुलीले बीमा क्षेत्रमा उल्लेखनीय योगदान दिएका अभिकर्तालाई बधाई दिँदै अझ उत्कृष्ट व्यवसायिक उपलब्धिमा पुग्ने विश्वास व्यक्त गरे । त्यस्तै, प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले अभिकर्ताहरूको निरन्तर योगदानको प्रशंसा गर्दै भविष्यमा अझ प्रेरित भएर काम गर्न आह्वान गरे । यसै अवसरमा कम्पनीले मेट्रिक्स फाइट नाइट (एमएफएन) २०२५ का विजेता रविन्द्र ढाँटलाई नगद १ लाख ११ हजार १ सय ११ सहित सम्मान गर्यो । सम्मान ग्रहण गर्दै ढाँटले आफ्नो संघर्ष र सफलताको अनुभव सेयर गर्दै कम्पनीप्रति आभार प्रकट गरे । कार्यक्रममा सर्टिफाइड एनएलपी ट्रेनर एण्ड कोच मिन घलेले ‘व्यवहारिक बीमा बिक्रीकला’ विषयमा उत्प्रेरणादायी सेसन दिएका थिए । साथै, विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरूले समारोहलाई थप आकर्षक बनाएको थियो ।