काठमाडौं । महालक्ष्मी विकास बैंकले चाडपर्वलाई लक्षित गर्दै ग्राहकका लागि क्रेडिट कार्डमार्फत टुर तथा भ्रमण प्याकेज खरिद गर्न सकिने नयाँ सुविधा सुरु गरेको छ । नेपालीहरू चाडपर्वका समयमा विभिन्न देश भ्रमण गर्ने परम्परालाई ध्यानमा राखी बैंकले यो योजना सार्वजनिक गरेको हो । यसका लागि बैंकले विभिन्न प्रतिष्ठित ट्राभल एजेन्सीसँग व्यावसायिक सहकार्यसमेत गरेको छ ।
प्रारम्भिक चरणमा गुरु ट्राभल्स (दरबारमार्ग) र रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्स (उत्तरढोका, काठमाडौं) मार्फत यो सुविधा लिन सकिनेछ । सम्झौता अनुसार महालक्ष्मी विकास बैंकका क्रेडिट कार्डधारकहरूले यी एजेन्सीमार्फत टुर प्याकेज खरिद गर्दा आफ्नो खरिद रकमलाई ६ देखि १२ महिनासम्मको लचिलो अवधिमा मासिक किस्ताबन्दीमा भुक्तानी गर्न सक्नेछन् । साथै, यस प्रक्रियामा बैंकले कुनै पनि ईएमआई प्रोसेसिङ शुल्क लिने छैन । बैंकले यस पहलले डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने र चाडपर्वलाई अझ उत्साहमय तथा अर्थपूर्ण बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेको छ ।