सरकारले युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने
काठमाडौँ । सरकारले फेसबुक, ट्वीटर (एक्स), युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार सो निर्णय गरेको हो । सरकारले आजदेखि नै ती सामाजिक सञ्जाल बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिसकेको छ । मन्त्रालयमा बिहीबार बसेको बैठकले सर्वोच्चको परमादेश र मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि तत्काल प्रभावबाट २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।
यति दर्ता प्रक्रिया अगाडि बढाएमा ती सामाजिक सञ्जाललाई क्रमशः खोलिदै लैजाने निर्णय भएको छ । यसअघि सर्वोच्च अदालतले अनुमति नलिएका सामाजिक सञ्जाल र ओभर द टप (ओटीटी) एप्सलगायत इन्टरनेट ब्राउजरमार्फत विज्ञापनसहित प्रसारण हुने सामग्रीमाथि बन्देज लगाउन र नियमनका लागि कानुन बनाउन सरकारलाई परमादेश जारी गरेको थियो ।