मीनबहादुर गुरुङको काठमाडौं स्टिलको व्यापार लयमा

काठमाडौं । भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङको काठमाडौं स्टिलको व्यापार लयमा फर्किएको छ । आर्थिक सुस्ततासँगै सुस्ताएको कम्पनीको व्यापार सन् २०२१ कै स्थितिमा फर्कने संकेत देखाएको हो । कम्पनीले गत आर्थिक वर्षको ९ महिनाको अवधिमा करिब साढे २ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सो अवधिमा २ अर्ब ३४ करोड १० लाख रुपैयाँको व्यापार गरेको हो । सन् २०२४ मा १ अर्ब ८१ करोड ७० लाख रुपैयाँ, सन् २०२३ मा १ अर्ब ७० करोड ३० लाख रुपैयाँ, सन् २०२२ मा २ अर्ब २३ करोड ६० लाख रुपैयाँ र सन् २०२१ मा ३ अर्ब ६३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले गत आव साढे ३ अर्बको व्यापार गरेको अनुमान गर्न सकिन्छ । कम्पनीले नेपाली बजारमा आइरन र स्टिलजन्य सामग्री उत्पादन गरी व्यापार गर्दै आएको छ । सन् २००९ मा स्थापना भएको कम्पनीले सन् २०१३ बाट मात्रै व्यवसायिक कारोबार सुरु गरेको थियो । कम्पनीमा भाटभटेनी ग्रुपको बहुमत लगानी छ ।

कम्पनीको २० प्रतिशत स्वामित्व गुरुङपत्नी सावित्री घलेको, १९ प्रतिशत गुरुङ आफ्नै र भाटभाटेनी सुपरमार्केट र डिपार्टमेन्टल स्टोरको १८ प्रतिशत स्वामित्व रहेको छ । काठमाडौं स्टिलले डण्डी र बाइन्डिङ तार उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले आइरन बिलेट भारतबाट आयात गर्ने गरेको छ । वार्षिक १ लाख ५० हजार मेट्रिक टन डण्डी उत्पादन क्षमता भएको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ४ अर्ब ६१ करोड १० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब १७ करोड ६४ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ अर्ब ४३ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको हो । सरकारले तयारी डण्डी आयातमा ३० प्रतिशत भन्सार दर तोकेको छ । डण्डीको कच्चा वस्तु आयातमा भने निकै कम भन्सार छ। यता, तयारी छडभन्दा यसको कच्चा पदार्थ आयातमा सुविधा दिँदा नेपाली उद्योगीहरुले पगाल्ने (मेल्टिङ) उद्योग लगाइरहेका छन् । खासगरी स्पोन्ज आइरन आयात गरेर डण्डी बनाउँदा उच्च मूल्य अभिवृद्धि हुने गर्दछ । त्यसैको लाभ उठाउन गुरुङले पनि मेल्टिङ प्लान्ट जडान गरिररहेका छन् । कम्पनीले १ अर्ब ७७ करोड १० लाख रुपैयाँ लगानी गरेर प्लान्ट निर्माण थालेको छ । प्लान्टमा कर्जा लगानी अनुपात ८०ः२० रहनेछ । कुल लगानीमध्ये हालसम्म ११ प्रतिशत खर्च भइसकेको छ । कर्जाका लागि भने कम्पनीले बैंकमा प्रक्रिया थालेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *