आन्दोलनमा भएको क्षतिप्रति सीएनआईको गहिरो दुःख प्रकट
काठमाडौं । देशभर भएको आन्दोलन र प्रदर्शनका क्रममा भएको धनजनको क्षति प्रति नेपाल उद्योग परिसंघ (सीएनआई) ले गहिरो दुःख प्रकट गरेको छ । परिसंघले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारलाई समवेदना प्रकट गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आन्दोलनले मुलुकलाई नयाँ चरणतर्फ डोर्याउने विश्वास समेत व्यक्त गरेको छ । परिसंघका अनुसार सुशासन भ्रष्टाचार निवारण र पारदर्शिताप्रति युवा पुस्ताले उठाएका मागलाई उच्च महत्व दिनुपर्नेमा जोड दिइएको छ । ‘विद्यमान अन्यौलतालाई चिर्दै मुलुकमा शान्ति र सुव्यवस्था कायम गर्नुपर्ने आम नेपालीको चाहनामा हामी प्रतिबद्ध छौं,’ परिसंघले विज्ञप्तिमा उल्लेख गरेको छ । आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमाथि भएको तोडफोड, आगजनी र लुटपाटप्रति परिसंघले गहिरो चिन्ता व्यक्त गरेको छ । ती घटनाले उद्योग–व्यवसायीहरूलाई त्रसित तुल्याएको भन्दै यसले लगानी, रोजगारी र औद्योगिक गतिविधिमा गम्भीर असर पारेको चेतावनी दिएको छ । ‘लगानीकर्ताले त्रास र भयबीच काम गर्नुपर्ने अवस्था रह्यो भने स्वदेशी र विदेशी दुवै लगानी प्रभावित हुनेछन्,’ परिसंघले जनाएको छ । यसका लागि परिसंघले सुरक्षाको प्रत्याभूति दिँदै निर्वाध रूपमा व्यवसाय सञ्चालन गर्न सक्ने वातावरण बनाइदिन सरकारलाई आग्रह गरेको छ । परिसंघका अनुसार आन्दोलनमा क्षतिग्रस्त सार्वजनिक र निजी संरचना पुनःनिर्माणका लागि खर्बौं लगानी आवश्यक पर्नेछ । राज्यको स्रोत मात्रले पुनर्निर्माण सम्भव नहुने भन्दै निजी क्षेत्रलाई सहज वातावरण दिनुपर्नेमा जोड दिइएको छ । बिहीबार साँझ सम्पन्न राष्ट्रिय परिषद बैठकपछि परिसंघले युवा पुस्ताले उठाएका आकांक्षा मूर्तरूप दिन निजी क्षेत्र शसक्त रूपमा प्रयत्नशील रहने प्रतिबद्धता जनाएको छ ।