धरानको भाटभटेनीमा जलेको अवस्थामा चारजनाको शव फेला

धरान । आन्दोलनकारीले जलाएको धरान उपमहानगरपालिका–९ स्थित पुतलीलाइनको भाटभटेनी सुपरमार्केटमा चारजनाको शव फेला परेको छ । जलेको अवस्था भेटिएका ती शव यही भदौ २४ गते मंगलबार जेनजी आन्दोलनका क्रममा सुपरमार्केटभित्र पसेको आन्दोलनकारी हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार, आगजनीमा ती व्यक्ति सुपरमार्केटभित्रै फसेका थिए ।

मृतकमध्ये तीनजनाको शव चौथो तलामा र एकजनाको दोस्रो तलामा फेलापरेको उनले जानकारी दिए । प्रवक्ता खतिवडाले भने, “जलेको अवस्था रहेकाले शवहरूको पहिचान तत्काल सम्भव नभएको र अब डीएनए परीक्षणबाट मात्र पहिचान हुनेछ । सबै शवको मुचुल्का उठाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको उनले बताए । भदौ २४ गते बेलुका करिब ७ बजे ‘जेनजी आन्दोलन’का क्रममा एक समूहले भाटभटेनी सुपरमार्केटको सटर फोडी पेट्रोल खन्याएर आगो लगाएका थिए । सो आगलागी आज बिहानमात्र नियन्त्रणमा आएको थियो । रासस

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *