संविधान संरक्षणका लागि नेपाल बार एसोसिएसनले शुक्रबार देशव्यापी प्रदर्शन गर्ने
काठमाडौं । नेपाल बार एसोसिएसनले संविधान संरक्षणका लागि शुक्रबार देशव्यापी प्रदर्शन गर्ने भएको छ।
हालको राजनीतिक अनिश्चिततामध्ये समाधान संविधानकै दायराबाट खोजिनुपर्नेमा बारले जोड दिएको छ। बारका अध्यक्ष डा. विजयप्रसाद मिश्रका अनुसार, शुक्रबार दुई चरणमा कार्यक्रम हुनेछन् । दिउँसो १ बजे देशभरका बार इकाइहरुले प्रदर्शन गर्नेछन् भने साँझ ५ बजे काठमाडौंको रामशाहपथस्थित केन्द्रीय कार्यालयबाट प्रर्दशन सुरु हुनेछ । कानून व्यवसायीहरुले संविधान हातमा लिएर विरोध गर्ने तयारी गरेका छन्। कर्फ्यूको अवधि तोडिएको सन्देश नजाओस् भनेर प्रदर्शन कर्फ्यू सकिएपछि मात्रै गर्ने निर्णय गरिएको हो।
यसअघि बिहीबार बारले राष्ट्रपति समक्ष ध्यानाकर्षण पत्र बुझाउँदै, राजनीतिक निकास हालकै संविधानभित्रैबाट खोजिनुपर्नेमा जोड दिएको थियो। संविधानसभाले बनाएको संविधान अझै कायम रहेको भन्दै प्रतिनिधिसभा र संघीय संसदको प्रक्रियामार्फत समाधान खोज्न सकिने बारको धारणा छ। बारको विज्ञप्तिमा भनिएको छ ? “सरकार परिवर्तनको प्रक्रिया अघि बढिसकेकाले संविधानको धारा ७६, ७७, ७८ र धारा ६१ को मर्मअनुसार राष्ट्रिय सरकार गठन गर्न सकिन्छ। त्यसका लागि तत्काल प्रक्रिया सुरु गर्न अपिल गर्दछौं।” आन्दोलनकारी जेन–जी समूहले पनि संविधान र व्यवस्था परिवर्तन होइन, हालकै संरचनाबाट निकास खोज्ने धारणा प्रकट गरिसकेको छ।