सुन तस्करीमा संलग्न गोरे कारागार फर्किने

काठमाडौँ । ३८ क्वीन्टल सुन तस्करीमा संलग्न भएको आरोपमा लागेका चुडामणि उप्रेती (गोरे) कारागार फर्किने भएका छन् ।

गोरेका आफन्त सुन्धारा कारागारको सम्पर्कमा आएर गोरे फर्किने तयारीमा रहेको कारागार प्रशासनले बताएको छ । ‘उहाँका आफन्तले हामीलाई सम्पर्क गर्नु भएको छ । कारागार फर्किने जानकारी गराउनु भएको छ’ कारागार स्रोतले भन्यो । जेनजी आन्दोलनको क्रममा उनीसहितका व्यक्ति २४ भदौमा सुन्धारा कारागारबाट भागेका थिए । मोरङ, उर्लाबारीका सनम शाक्यको हत्याको अनुसन्धानका क्रममा प्रहरीले ९ माघ २०७४ मा दुबईबाट आएको साढे ३३ किलो सुन हराएपछि भरियाका रूपमा प्रयोग भएका शाक्यको हत्या भएको पत्ता लगाएको थियो ।

प्रहरी अधिकारीहरू नै सुन तस्करी प्रकरणमा संलग्न भएको आरोप लागेपछि गृहमन्त्रालयका तत्कालीन सहसचिव इश्वरराज पौडेलको नेतृत्वमा छानबिन समिति बनाएर अनुसन्धान गरिएको थियो । छानबिन समितिले गोरे समूहले सन् २०१५ देखि २०१८ को फेबु्रअरीसम्म साढे ३८ क्विन्टल सुन तस्करी गरेको निष्कर्ष निकालेको थियो । ९ जना प्रहरीसहित ६३ जनाविरुद्ध मुद्दा दर्ता भयो । तर एक किलो पनि सुन भेटिएको थिएन ।

प्रहरीले सुन बरामद गर्न नसकेकै कारण जिल्ला अदालत, मोरङले सबैलाई सफाइ दियो । न्यायाधीश भरत लम्सालको इजलासले १९ असोज २०७८ मा सनम शाक्य हत्या अभियोगमा गोरेसहित ६ जनालाई जन्म कैदको फैसला सुनायो । एक जनालाई ३ वर्ष र अर्का एक जनालाई ६ महिना कैदको सजाय सुनाइएको थियो । जन्म कैदको सजाय पाएका गोरे भने अहिले सम्पर्कविहीन छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *