जेन जीका सुदन गुरुङ, इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दिपक भट्ट र शंकर ग्रुपका संचालक साहिल अग्रवालका विषयमा भ्रामक र काल्पनिक समाचार प्रति हाम्रो गम्भीर ध्यानाकर्षण
जेन–जी समूहको अगुवाइमा भाद्र २३ र २४ गते भएको आन्दोलनले देशमा नयाँ परिवर्तन ल्याएको छ । यस आन्दोलनका क्रममा दर्जनौं नेपाली नागरिकहरूले शहादत प्राप्त गर्नुभयो, उहाँहरू सबैमा हाम्रो श्रद्धा सुमनसहित भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं । साथै, आन्दोलनका क्रममा घाइते हुनुभएका सम्पूर्णमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । यस परिवर्तनपछि केही दिनयता जेन जीका अगुवा सुदन गुरुङ, इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दिपक भट्ट र शंकर ग्रुपका संचालक साहिल अग्रवालका विषयमा विभिन्न अनलाइन, छापा एवं सामाजिक सञ्जालमा आएका भ्रामक र काल्पनिक समाचार सामग्रीहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । विश्वव्यापी रूपमा फैलिएको कोभिड महामारीको समयमा हामीले व्यावसायिक धर्मबाट माथि उठेर मानव सेवामा पुण्य कर्म गर्नु पर्दछ भन्ने उद्देश्यले ‘हामी नेपाल’ नामक संस्थासँग हातेमालो गरेका थियौं । त्यस क्रममा हजारौं विपत्तिमा पर्नुभएका आमा, बुबा, दाजुभाइ, दिदीबहिनीहरूको उपचार र पुनस्र्थापनामा सहयोगी हात बढाएका थियौं, जसका कारण हजारौंको ज्यान जोगिन पुग्यो र त्यसमा हामीलाई गर्व पनि छ । उक्त महामारीका समयमा ‘हामी नेपाल’ संस्था र त्यसका नेतृत्वकर्ता सुदन गुरुङसँग चिनजान भएको थियो । त्यही क्रममा हामीले कोरोना प्रभावित नेपालीहरुलाई सहयोग गर्न उहाँहरुलाई परिचालन पार्टनर छनौट गरेका थियौं । त्यसयता उक्त संस्थासँग हाम्रो कुनै सहकार्य नभएको समेत स्पष्ट पार्न चाहन्छौं ।हामीले उक्त सहयोग पारदर्शीरुपमा सामाजिक उत्तरदायित्व(सीएसआर) अन्तरगत गरेका थियौं र त्यतिबेलै हामीले सार्वजनिकरुपमा प्रेस बक्तब्यमार्फत् जानकारी गराएका थियौं । उक्त संस्थाले आफ्नो वेबसाइटमा पनि हामीले गरेको सहयोगलाई पारदर्शीरुपमै उल्लेख गरेर हाम्रो संस्थाका लोगोहरु प्रयोग गरेको रहेछ । त्यसयता निज सुदन गुरुङ र उनको संस्थासँग हामीले कुनै पनि सहकार्य गरेका छैनौं । उनी र उनको समूहको राजनीति र संस्थागत गतिविधिसँग हाम्रो कुनै सरोकार र सम्बन्ध छैन । तथापि, पछिल्लो समयमा केही सञ्चारमाध्यमले शंकर ग्रुप र इन्फिनिटी होल्डिङ तथा यसका सञ्चालकहरुसँग सुदन गुरुङका अहिलेका गतिविधिलाई जोडने र भ्रामक खवरहरु प्रकाशन गरेको देख्दा हामीलाई दुःख लागेको छ । यस सन्दर्भमा कुनै पनि सञ्चारमाध्यमले हामीसँग सोधखोज गरेका छैनन्, सत्यतथ्य नखोजी अनुमानका भरमा समाचार प्रकाशन÷प्रसारण गरेको देखिएको छ । यस आन्दोलनका क्रममा थुप्रै व्यावसायिक संस्थाहरूमा समेत आगजनी, तोडफोड तथा लुटपाट भएको छ । यसैको चपेटमा हामीद्वारा प्रर्बद्धित भर्खरै सञ्चालनमा आएको होटल हिल्टन समेत परेको छ । विभिन्न बाधा व्यवधानका बाबजुद हाम्रो अथक मिहिनेत र परिश्रमपछि जगदम्बा हस्पिटालिटी समूहको ब्यानरमा सञ्चालनमा आएको यो अन्तर्राष्ट्रिय चेन होटल खरानीमा परिणत भएको छ । यसबाट भौतिक क्षति मात्र भएको छैन, नेपालको व्यापारिक क्षेत्र, पर्यटन क्षेत्र र आर्थिक क्षेत्र समेतमा गम्भीर असर परेको छ । यतिबेला हामी गहिरो शोकमा छौं । नेपालमा यति ठूलो जोखिम मोलेर लगानी गर्नु के हाम्रो गल्ती थियो? हाम्रो सारा मिहिनेत र सपनाहरूसँगै यस विशाल धरोहर खरानी भएबाट हामी विक्षिप्त भएका छौं ।प्रत्यक्ष रूपमा हामी लगानीकर्ता भए पनि यसमा आम नेपाल र नेपालीजनको गौरव जोडिएको हामीले महसुस गरेका थियौं । यसको स्थापनादेखि नै केही कुत्सित मनसाय भएकाहरूले यस होटलको विषयमा अत्यन्त घृणित र भ्रामक समाचार जसरी फैलाए, त्यसैको शिकार अहिले यो होटल हुन पुग्यो । जुन बर्बरतापूर्ण घटना (आगो लगाउने कार्य) बाट विदेशी पर्यटक मात्र होइन सारा संसारलाई नेपालको दारुण चित्र प्रस्तुत गरेको छ । तर, साथै हामी विचलित पनि भएका छैनौं, हामीले होश गुमाएका छैनौं । किनकि हामीले थुप्रै राम्रा अवसरहरूलाई तिलाञ्जलि दिएर देशमै केही गरौं भनेर आफ्नो उद्यमशीलता शुरू गरेका थियौं । यस संकटको घडीमा हामी फेरि आफूलाई सम्हालेर आफ्नो व्यवसायलाई नयाँ शिराबाट शुरु गर्नेछौं र नेपाल र नेपालीको लागि केही न केही योगदान गर्न सक्छौं भन्ने दृढ विश्वास समेत राखेका छौं । साथै, सामाजिक सञ्जाल र विभिन्न अनलाइन छापाहरूमा आएका भ्रामक र गलत कपोलकल्पित समाचारको पछाडि नलाग्न समेत हामी सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आमा, बुबामा हार्दिक अपिल गर्दछौं ।
दीपक भट्ट
अध्यक्ष
इन्फिनीटि होल्डिङ्स
साहिल अग्रवाल
संचालक