तीन मन्त्रीले शपथ लिए, सभामुख घिमिरे फेरि अनुपस्थित
काठमाडौँ । आज सोमबार शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा तीन मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा ती मन्त्रीहरूलाई शपथ गराएका हुन् । नयाँ नियुक्त मन्त्रीहरूमा अर्थ मन्त्रालयको जिम्मेवारी पाएका रामेश्वर खनाल, ऊर्जा, भौतिक योजना तथा सहरी विकास मन्त्री कुलमान घिसिङ, र गृह तथा कानुन मन्त्रालय सम्हाल्ने ओमप्रकाश अर्याल रहेका छन्। शपथग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश लगायत उच्चपदस्थ व्यक्तिहरूको उपस्थिति देखिए पनि सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना भने यसपटक पनि अनुपस्थित रहे । सभामुख घिमिरे गत साता सम्पन्न प्रधानमन्त्रीको शपथग्रहण समारोहमा समेत उपस्थित थिएनन् ।
पछिल्लोपटक सार्वजनिक रूपमा देखिएको ‘जेन जेड आन्दोलन’ पछि उनले कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागिता जनाएका छैनन्, जसका कारण उनको निरन्तर अनुपस्थितिले राजनीतिक वृत्तमा चर्चा चुलिएको छ। यसैबीच, प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा पनि राष्ट्रिय सभा क्रियाशील भएकाले अध्यक्ष नारायण दाहाल भने आजको कार्यक्रममा उपस्थित रहेका थिए।