देशभर बैंकका ६८ शाखा र ६९ वटा एटीएममा क्षति
काठमाडौं । भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा देशभर बैंकका ६८ शाखा कार्यालय र ६९ वटा एटीएममा क्षति पुगेको छ । प्रदर्शनका क्रममा बैंक तथा वित्तीय संस्थाभन्दा सरकारी र निजी भवनहरू ‘टार्गेट’मा परेका छन् । उक्त प्रदर्शनले नेपाल राष्ट्र बैंकको सिस्टममा कुनै असर पारेको छैन । हाल राष्ट्र बैंकको सिस्टम ठीकठाक रहेको गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले बताए । तर, देशभरका केही बैंकका शाखा कार्यालय र एटीएममा असर परेको उनले बताए । देशभर बैंकका ६८ शाखा कार्यालय र ६९ वटा एटीएममा क्षति पुगेको छ । राष्ट्र बैंकको सिस्टम ठीकठाक छ, उनले अर्थमन्त्री रामेश्वर खनाललाई स्वागत गर्ने क्रममा भने । हालको अवस्थामा मान्छेको मनोबल बढाउने बाध्यता रहेको उनले बताए । यसभन्दा पहिले पनि यस्तै चुनौतीको सामना गर्नुपरेको उनले बताए । यो विषम परिस्थितिमा राष्ट्र बैंकले गर्नुपर्ने आवश्यक सहजीकरण गर्ने पौडेलले बताए । उनले व्यवसायीलाई पुराना कुरा भुलेर आउने दिनका लागि काम गर्न पनि आग्रह गरे ।