सिद्धि गणेश सहकारीको ३१औं साधारणसभा पहिलो पटक एकैदिन तीन ठाउँमा सम्पन्न

भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ३१औं वार्षिक साधारणसभा पहिलो पटक एकैदिन तीन ठाउँमा सम्पन्न गरेको छ । १७ हजार ८ सय सदस्य रहेको यस सहकारीले अजिमा पार्टी महल, स्टार बैंक्वेट र महेश्वरी बैंक्वेटमा क्षेत्रगत रूपमा साधारणसभा आयोजना गरेको हो । कोषाध्यक्ष जयराम गोर्खालीले प्रस्तुत गरेको प्रतिवेदनअनुसार आव २०८१।८२ मा सहकारीले ४ करोड ६४ लाख ३२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यसअघि ७ करोड ८७ लाख नाफा गर्ने लक्ष्य राखिएकोमा ऋण नोक्सानी व्यवस्थाका कारण लक्ष्यभन्दा कम नाफा भएको स्पष्ट पारियो । साधारणसभाले उक्त आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन र आव २०८२।८३ का लागि प्रस्तुत ३ अर्ब ३६ करोडको स्रोत–उपयोग अनुमान तथा २१ करोड ७८ लाख खर्चसहितको बजेट पारित गरेको छ । साथै, आव २०८१।८२ का लागि ६ प्रतिशत करकट्टि सहितको दरमा लाभांश वितरण गर्ने प्रस्ताव पारित गरियो । संरक्षित पुँजी फिर्ता कोषमा रहेको ५० लाख रुपैयाँ नियमानुसार वितरण गर्ने निर्णय पनि सभाले अनुमोदन गरेको छ । सचिव विष्णु प्रसाद दुमरुले प्रस्तुत प्रतिवेदनअनुसार संस्थाको कुल सम्पत्ति ३ अर्ब २६ करोड ३१ लाख रुपैयाँ पुगेको छ । यसमा शेयर पुँजी २६ करोड २५ लाख, बचत तथा निक्षेप २ अर्ब ६४ करोड, जगेडा कोष २७ करोड ५८ लाख, सदस्य ऋण लगानी १ अर्ब ८२ करोडसहितका मद्दयाम पारदर्शी ढंगले व्यवस्थापन भएको उल्लेख छ । अध्यक्ष रुद्रनारायण लाखाले ३१ सदस्यबाट सुरु भएको सहकारी अहिले १७ हजार ६ सयभन्दा बढी सदस्यसम्म विस्तार भएकोमा खुशी व्यक्त गरे । उनले यसपटक कुनै उपहार, भोजभतेर वा सम्मान कार्यक्रम नगरी मितव्ययी ढंगले सभा सम्पन्न गरिएको बताए । उपाध्यक्ष विष्णुराम दुमरुले सहकारी क्षेत्रलाई एकै किसिमको नियमले बाँध्न खोज्नु उचित नभएको टिप्पणी गर्दै नीतिगत स्पष्टताका लागि सरकारसँग छलफल आवश्यक रहेको धारणा राखे । पूर्व अध्यक्ष हरिरत्न गोर्खालीले सिद्धि गणेशजस्ता स्थानीय सहकारी संस्थामा जनविश्वास कायम रहेको र यस्ता संस्थाले भाग्न नसक्ने भएकाले निडर भएर निक्षेप गर्न सकिने बताए । तीनै ठाउँमा सम्पन्न सभाले १०–१० जना सदस्यलाई निर्णय प्रमाणिकरण गर्ने व्यक्तिका रूपमा चयन गरेको छ । सभामा आगामी आवका लागि सम्पत्ति शुद्धिकरण निवारण निर्देशिकाको पालना, नीतिगत संशोधन, सदस्य सेवामा डिजिटल प्रणालीको प्रयोग, र लगानी सुरक्षित बनाउन नयाँ कार्यक्रम अघि बढाउने निर्णय गरियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *