नर्भिक हस्पिटलले ४ अर्ब खर्चेर ३ सय बेड सुविधासहितको नयाँ बिल्डिङ बनाउँदै

काठमाडौं । उत्कृष्ट सेवा सुविधा दिदै आएको नर्भिक इन्टरनेसनल हस्पिटल र मेडिकल कलेजले आफ्नो क्षमता विस्तार गर्ने भएको छ । नर्भिकले ३ सय बेडको सुविधा रहेको नयाँ भवन बनाउन लागेको हो । ओपीडी र आईपीडी सुविधाको मर्मत सम्भार र अपग्रेड गर्ने योजनासहित नयाँ भवन बनाउने तयारी अस्पतालको छ । हस्पिटलले सुरुमा २ सय शैय्याको सुविधासहित नयाँ भवन बनाउने तयारी गरेको थियो । तर, अहिले सो योजना परिर्माजन गरी ३ सय शैय्याको बनाउन लागिएको हो । सुरुमा २ सय शैय्याको हस्पिटल बनाउन २ अर्ब ३७ करोड ५० लाख रुपैयाँ लागत अनुमान गरेको थियो । हस्पिटलले उक्त भवन बनाउन ७९ः२१ को लगानी अनुपात राखेको थियो । जसमा १ अर्ब ८७ करोड ६० लाख रुपैयाँ कर्जा र ५० करोड रुपैयाँ इक्वीटीमार्फत् लगानी गर्ने भनिएको थियो । तर, अहिले हस्पिटलको क्षमता बढाएसँगै लागत पनि बढेको छ । अब नयाँ भवनको लागत ३ अर्ब ६७ करोड ४० लाख रुपैयाँ हुनेछ । भवनको डिजाइनमा परिवर्तनका साथै उच्चस्तरीय चिकित्सा तथा गैर चिकित्सा उपकरणहरु खरिद गर्ने विक्रेता फेरिँदा आयोजनाको लागत बढेको छ । नयाँ भवन निर्माण कार्य भइरहेको छ । सन् २०२५ को जुलाईसम्ममा ९१ करोड ४४ लाख रुपैयाँ खर्च भइसकेको छ । नयाँ भवनबाट सन् २०२६ को सेप्टेम्बरमा सेवा सुरु हुने अपेक्षा गरेको छ ।

हस्पिटलले नयाँ भवन निर्माणका लागि २ अर्ब ६२ करोड १४ लाख रुपैयाँको कर्जा रेटिङ गराएको छ । नर्भिकले दीर्घकालीन कर्जाका लागि २ अर्ब ५५ करोड ७५ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ६ करोड ३९ लाख रुपैयाँको रेटिङ गराएको छ । चौधरी ग्रुपद्वारा प्रबद्र्धित यस हस्पिटलमा बीएलसी हेल्डिङको ५१ प्रतिशत स्वामित्व छ । बसन्तकुमार चौधरी अध्यक्ष रहेको बीएलसी होल्डिङमा चौधरीको ४३ प्रतिशत स्वामित्व छ । हस्पिटलले सन् २०२४ मा २ अर्ब ३ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ । हस्पिटलको सन् २०२४ मा व्यापार ५ प्रतिशतले बढेको हो । सन् २०२३ मा हस्पिटलले १ अर्ब ९४ करोड रुपैयाँ र सन् २०२२ मा १ अर्ब ८१ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो । नर्भिकका अनुसार सन् २०२४ मा बिरामीको संख्या बढ्दा कारोबार बढेको हो । हस्पिटलले सन् २०४ मा ८ प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२३ मा ६ प्रतिशत खुद नाफा कमाएको थियो । सन् १९९३ मा स्थापना भएको हस्पिटलले हेल्थकेयर सम्बन्धी सेवा दिँदै आएको छ । हस्पिटलले प्राथमिक शेयर निष्काशन गर्ने उद्देश्यसहित सन् २०२१ मा पब्लिक कम्पनीमा परिणत भइसकेको छ । नर्भिकले हाल विशेषगरी १ सय १६ वटा शैय्याको सुविधासहित सेवा दिँदै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *