डब्बु र बेनिसाको लहर झैँमा रमाउँदै सरिता भारती
काठमाडौँ । गीतकार डब्बु क्षत्रीको रचनामा नयाँ गीत ‘लहर झैँ ’ दर्शकमाझ आएको छ । यस पटक बडा दसैँको अबसर पारेर हालै यो गीतको भिडियोलाई सार्वजनिक गरिएको हो । यो गीतलाई गायिका बेनिसा पौडेलले गाएकी छिन् । पप शैलीको यो गीतमा जुगल डंगोलको संगीत रहेको छ । गीतमा संगीत संयोजन पनि जुगलले नै गरेका हुन् । यो गीतको भिडियोलाई ‘एसबी क्रिसेसन नेपाल युट्युव च्यानल’बाट रिलिज गरिएको छ । भिडियो निर्देशन पनि गीतकार डब्बु क्षत्रीले गरेका हुन् भने भिडियोको निर्मातामा विलक्षण क्रियसन रहेको छ । गीतमा एउटा युवतीको उत्साह, ती युवतीको स्वतन्त्रता र चरी झैँ उडन चाहने उनका चाहनाहरुलाई प्रस्तुत गरिएको छ । गीतको भिडियोका सम्पूर्ण दृष्य मलेशियामा छायांकन गरिएको हो ।
गीतको भिडियोमा मोडल एवम् गायिका सरिता भारतीले अभिनय गरेकी छिन् । एक युवतीको चाहनामा गीत केन्द्रित भएकाले भिडियोमा पनि सरिताको एकल अभिनय प्रस्तुत गरिएको हो । मलेशियाको समुन्द्र किनार देखि विभिन्न रमणीय स्थलमा यो भिडियोलाई यात्रा शैलीमा छायांकन गरिएका यसका छायांकन एवम् फोटो पत्रकार बद्री थापाले बताए । गीतको सम्पादन तथा रंग संयोजन बीरेन्द्र भाट ‘बिपिन’ले गरेका हुन् । गीतकार डब्बु क्षत्रीका अनुसार ‘लहर झैँ सागरमा नाच्न मन लाग्यो,हाँस्दै खेल्दै रमाउँदै बाँच्न मन लाग्यो ’ बोलको यो गीतले एक किशोरीको स्वतन्त्रतालाई प्रस्तु्त गरेको छ । युवतीहरुले स्वतन्त्र रुपमा सपना देख्नु पर्छ र त्यो सपनालाई पुरा पनि गर्नु पर्छ भन्ने उदेश्यले यो गीत बनाईएको हो ।