मंसिरभित्र नियमित महाधिवेशन गरौँ : महामन्त्री शर्मा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको आसन्न महाधिवेशन मंसिर मसान्तभित्रै नियमितरूपमा सम्पन्न गर्न सकिने बताएका छन् । नियमित महाधिवेशन छोटो समयमा गर्न नसकिने निष्कर्षमा केन्द्रीय समिति पुगेमा विशेष महाधिवेशन विकल्पको रूपमा रहेको उनको भनाइ छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा महामन्त्री शर्माले भने, नियमित महाधिवेशन मंसिर मसान्तभित्रै गर्न सकिन्छ । यसले सभापतिज्युको बहिर्गमनलाई पनि सहज बनाउनेछ । शर्माले नियमित महाधिवेशनका लागि रातदिन खट्न सक्ने नेतृत्व चाहिनेमा जोड दिएका छन् ।
त्यसका लागि कार्यवाहकले तयारी गर्ने वा अन्य कुनै सिनियर नेताले संयोजन गर्ने भन्ने टुंगो लगाउनु उचित हुने उनको भनाइ छ । उनका अनुसार, नियमित महाधिवेशन गर्दा विधानमा संशोधन गरेर सबै तहमा व्यापक युवा सहभागिता बढाउन सकिन्छ । अर्को प्रसंगमा महामन्त्री शर्माले फागुन २१ मा चुनाव गर्नका लागि सरकारलाई साथ र दबाब दिएर जानुपर्ने धारणा राखेका छन् । उनले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्ने निर्णय कार्यसम्पादन समितिबाट भइसकेको पनि स्मरण गराए । अदालतले यसको संवैधानिक परीक्षण के गर्छ, त्यो नै अन्तिम हुनेछ । यद्यपि, सबै राजनीतिक दलले चुनावमार्फत प्रणालीलाई ट्र्याकमा ल्याउने बाटो रोज्नु उत्तम हुने उनको भनाइ छ । उनले केन्द्रीय समितिको बैठकबाट महाधिवेशनको तयारीसँगसँगै निर्वाचनमा जाने निर्णय गर्नुपर्नेमा जोड दिएका छन् ।