‘होम एन्ड अवे’ लिगका लागि एन्फाले सहजीकरण नगरेको क्लबहरूको आरोप

काठमाण्डौं । शहीद स्मारक ए डिभिजन लिगका क्लबहरूले होम एन्ड अवे फर्म्याटमा यस सिजनको लिग खेल्न आफूहरू तयार भए पनि अखिल नेपाल फुटबल संघ (एन्फा) ले समन्वय र सहजीकरण नगरेको आरोप लगाएका छन् । ललितपुरको कुपण्डोलमा शनिबार पत्रकार सम्मेलन आयोजना गर्दै शीर्ष डिभिजनका नौवटा क्लबले छोटो समयको तयारीबाट होम एन्ड अवे फर्म्याटमा लिगले एएफसी क्लब लाइसेन्सको मान्यता पाउनेमा पनि आशंका गरेका छन्। एन्फाले लिगबारे छलफल गर्न बोलाएको बैठकअघि नै शीर्ष डिभिजनका नौ क्लबले पत्रकार सम्मेलन गर्दै दबाब दिएका छन्। शीर्ष डिभिजनका नौ क्लबले लिग व्यवस्थापन र संरचनामा व्यापक सुधारको माग गरेका छन्। एन्फाले गत असोज ४ गते पत्रमार्फत शीर्ष डिभिजनका क्लबलाई असोज २६ गतेका लागि बैठक बोलाएको छ। तर, त्यो बैठक अगाडि नै क्लबहरूले एन्फाले आयोजना गर्न लागेको लिगमा व्यापक सुधार आवश्यक रहेको माग गरेका छन्। एन्फाले आगामी पुसदेखि शहीद स्मारक ए डिभिजन लिग गर्ने तयारी गरेको छ। त्यसका लागि एन्फाले केही तयारी पनि अगाडि बढाइसकेको छ। सोही बैठक अगाडि क्लबहरूले लिगमा व्यापक सुधारको माग राखेका हुन्। आइतबारको बैठकमा शहीद स्मारक ‘ए’ डिभिजन लिग र जेनजी आन्दोलनका कारण रोकिएका अन्य प्रतियोगिताहरू सुचारु गर्ने विषयमा छलफल हुँदैछ। सो बैठकमा एन्फा यु–१६ युथ लिगका बारेमा पनि छलफल हुनेछ। एन्फाका पूर्वअध्यक्ष तथा हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा आयोजित पत्रकार सम्मेलनमा न्युरोड टिम ९एनआरटी०, फ्रेन्ड्स क्लब, श्री भगवती क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ मर्स्याङ्दी क्लब, सातदोबाटो युथ क्लब, संकटा क्लब र मछिन्द्र क्लबका पदाधिकारीको उपस्थिति थियो।

क्लबहरूले नेपाली फुटबलमा व्यावसायिकता, पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्न एन्फाले आधारभूत मुद्दाहरूलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्। क्लबहरूले एन्फालाई एसियाली फुटबल महासंघ (एएफसी) सँग समन्वय गरी लिग सञ्चालन गर्न पूर्ण अधिकारसहितको स्वतन्त्र लिग समिति गठन गर्न आग्रह गरेका छन्। समितिलाई आर्थिक, कानुनी, निष्पक्ष तथा व्यवस्थित तरिकाले लिग व्यवस्थापन गर्न अधिकार दिनुपर्ने क्लबहरूको माग छ। त्यस्तै, क्लबहरूले एन्फाले लिग आयोजना गर्नुभन्दा पहिले उचित पूर्वाधारमा सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिँदै ‘होम एन्ड अवे’ खेलका बारेमा स्पष्ट प्रावधान माग गरेका छन्। एन्फाले एएफसी र एन्फा स्वयंको मापदण्ड अनुरूप कम्तीमा १० वर्षका लागि घरेलु मैदानको कानुनी अधिग्रहणलाई सहज बनाउन माग गरेका छन्। अन्तर्राष्ट्रिय अभ्यासअनुसार क्लबहरूलाई ‘टिम लजिस्टिक’ र खेल सञ्चालन खर्च उपलब्ध गराउन र शीर्ष ६ भित्र अटाउने क्लबहरूको पुरस्कार रकम बढाउने माग पनि उल्लेख गरिएको छ। यसैगरी, सम्बन्धित सरकारी निकायहरूसँगको समन्वयमा नेपालको कानूनअन्तर्गत ‘म्याच फिक्सिङ’ र सट्टेबाजी जस्ता आपराधिक कार्यलाई कडाइका साथ रोक्न आधिकारिक निकाय गठन गर्ने प्रस्ताव पनि क्लबहरूले गरेका छन्।एएफसी क्लब लाइसेन्स मापदण्डहरू पूरा गर्नुपर्ने आवश्यकतालाई जोड दिँदै एन्फालाई लिग सुरु हुनुभन्दा अघि नै सबै १४ टोलीले आवश्यक मापदण्डहरू पूरा गर्न सक्ने वातावरण सिर्जना गर्न क्लबहरूले आग्रह गरेका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *